मदरसा शिक्षालाई स्वदेशी विषयवस्तुमा आधारित बनाउन मुख्यमन्त्री निर्देशन

माघ ६, २०७६ | बुटवल

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले मदरसा शिक्षालाई स्वदेशी विषयवस्तुमा आधारित बनाउन निर्देशन दिनुभएको छ । यसले मात्रै मदरसाका विद्यार्थीको शिक्षा समय सापेक्ष र देशको आवश्यकता अनुसारको बन्ने उहाँले बताउनुभयो ।

 मधेश मानव अधिकार गृहले तयार गरेको मदरसा शिक्षा सुधार सुझाब प्रतिवेदन बुझ्दै उहाँले मदरसा शिक्षालाई मुलप्रवाहीकरण गर्न प्रदेश सरकारले थुप्रै योजना बनाएको बताउनुभयो । त्यसअनुसार काम गर्न सामाजिक विकास मन्त्रालयसँग सहकार्य गर्न समेत उहाँले सुझाव दिनुभयो ।

मधेश मानव अधिकार गृहले तयार पारेको प्रतिवेदन सामाजिक विकास मन्त्री सुदर्शन बराललाई समेत हस्तान्तरण गरेको छ । 

कार्यक्रममा बोल्दै मन्त्री बरालले मदरसा शिक्षा सुधारका लागि थुप्रै काम गर्न बाँकी रहेको बताउनुभयो । ‘मदरसाका विद्यार्थीलाई दिने शिक्षा, त्यसका पाठ्यक्रम, सिकाउने तरिकामा सुधार गर्नुपर्छ,’ उहाँले भन्नुभयो ।

माहुरी होमले केहीअघि मदरसा शिक्षा व्यवस्थापनका लागि मुस्लिम समुदायका धर्म गुरु, मौलाना, नागरिक अगुवाहरुको भेला आयोजना गरेको थियो । 

भेलापछि आवश्यक सुझाव सहितको प्रतिवेदन पेस गर्न पूर्व जिल्ला शिक्षा अधिकारी अब्दुल रउफ खाँ संयोजक, प्राध्यापक डा.विद्यानाथ कोइराला सदस्य र प्रधानाध्यापक बद्रे आलम खाँ सदस्य रहेको कार्यदल गठन गरेको थियो । 

उक्त कार्यदलले मदरसा शिक्षाको मुल प्रवाहीकरणका निम्ति प्रदेश सरकार तथा स्थानीय सरकारलाई सघाउन नीति, ऐन, नियमावली, कार्यविधि, योजनाको मस्यौदा सहितको प्रतिवेदन तयार पारेको थियो । 

मुस्लिम धर्म गुरु, मौलवी, मौलानाहरुको उल्लेख्य सहभागीतामा बनाएको प्रतिवेदन मुख्यमन्त्री तथा मन्त्रीलाई बुझाएको माहुरी होमका अध्यक्ष रवी ठाकुरले बताउनुभयो । त्यसक्रममा मुस्लिम अगुवाहरुको समेत सहभागिता थियो ।  


प्रतिक्रिया