चन्द समूहका पाँच नेता अदालत गेटबाटै पुन: पक्राउ

माघ ६, २०७६ | दाङ

प्रतिबन्धित नेत्रविक्रम चन्द समूहका पाँच नेताहरु आज जिल्ला अदालत घोराहीको गेटबाटै पुन: पक्राउ परेका छन् । 

अदालतको आदेश बमोजिम १५ हजार रुपयाँ धरौटी बुझाएर छुटेका नेताहरुलाई प्रहरीले पुन: पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा रोल्पा थबाङका अमित घर्ती मगर, हितप्रसाद रोका मगर, दाङको तुलसीपुर उपमहानगरपालिका १९ का रामबहादुर थापा, राप्ती गाउँपालिका ५ का यमलाल कटुवाल र शान्तिनगर गाउँपालिका २ का इन्द्रबहादुर वली रहेका छन् ।

उनीहरु सहित २१ जना चन्द समूहका नेताहरुलाई असोज ३० मा राजपुर गाउँपालिका ४ मगराइनास्थित ज्ञानेन्द्रविक्रम रानाको घरमा सुतिरहेको बेला प्रहरीले घेरा हाली पक्राउ गरेको थियो । 

उनीहरुलाई मध्य कमाण्डको बैठक बसेर सुतिरहेको बेला राति १ बजे घेरा हालेर पक्राउ गरेको थियो । पक्राउ परेका नेताहरुविरुद्व संगठित रुपले राज्य विरुद्धको अपराध, सवारी साधनमा आगजनी र एनसेल टावरमा आगजनी गरी तीन मुद्दा चलाइएको थियो ।

पुस ७ मा जिल्ला अदालतले उनीहरुलाई १५ हजार धरौटीमा छाड्न आदेश दियो । तर २१ नेताहरु नै अदालतको आदेशपछि पनि थुनामुक्त हुन मानेनन् । 

अदालत बाहिर ठूलो संख्यामा प्रहरी परिचालन भएकाले फेरी पक्राउ पर्न सक्ने अबस्था देखेपछि उनीहरु कारागार जान तयार भएका हुन् । 

जिल्ला अदालतका न्यायाधीश रितेन्द्र थापाले जनही १५ हजार रुपयाँ धरौटीमा छोड्न आदेश दिएका थिए । तर उनीहरु फेरी गिरफ्तार हुने डरले छुट्नुको सट्टा कारागार जान तयार भए । त्यसपछि सबैलाई कारागार राखिएको थियो । 

अहिले विस्तारै अदालतमा उपस्थित हुने, धरौटी तिर्ने र छुट्ने क्रम चलिरहेको छ । तर छुटेका सबैलाई अदालत गेटबाटै प्रहरीले पुन: पक्राउ गरिरहेको छ । यसअघि छुटेका ६ जनालाई पनि पुन: पक्राउ गरिएको थियो ।


प्रतिक्रिया