सालकको खपटासहित हेटौंडाबाट तीन पक्राउ

माघ ७, २०७६ | मकवानपुर

संरक्षित सूचीमा रहेको लोपोन्मुख वन्यजन्तु सालकको खपटासहित जिल्ला प्रहरी कार्यालय मकवानपुरले तीन जनालाई पक्राउ गरेको छ । 

हेटौंडा उपमहानगरपालिका–१० स्थित बसपार्कमा सालकको खपटाको किनबेच भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट २ किलो १ सय ९० ग्राम सालकको खपटा बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका तीन जनालाई आज सार्वजनिक गरेको हो । 

पक्राउ पर्नेहरुमा हेटौंडा उपमहानगरपालिका–१ बस्ने ३० वर्षीय गौरव गौतम, कृष्णबहादुर गोले र हेटौंडा–११ का ४८ वर्षीय सूर्य लामा रहेका छन् । 

पक्राउ परेकाहरुलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ बमोजिम मुद्दा चलाउनका लागि डिभिजन वन कार्यालय मकवानपुरलाई बुझाउने तयारी भइरहेको छ । 

उक्त ऐन अनुसार पाँच लाख देखि दश लाखसम्म जरिवाना र पाँच वर्षदेखि १५ वर्षसम्म कैद हुन सक्ने छ । 


प्रतिक्रिया