चन्द समूहका रौतहट जिल्ला सेक्रेटरी र सदस्य पक्राउ

माघ १४, २०७६ | रौतहट

प्रतिबन्धित नेत्रविक्रम चन्द समूहका रौतहट जिल्ला सेक्रटरी र सदस्य पक्राउ परेका छन् । ईलाका प्रहरी चन्द्रनिगाहपुरको टोलीले चन्द्रपुर ३ स्थित इपिलीघारी बस्तीबाट जिल्ला सेक्रेटरी सृजना शाही र जिल्ला सदस्य दुर्गा बललाई पक्राउ गरेको हो ।

चन्द समूहले केही दिनदेखि जिल्लाका ब्यापारी, जनप्रतिनिधि, ब्यवसायी, कर्मचारीलाई धम्क्याउने, चन्दा असूल्ने, एनसेल टावरमा आगजनी गर्ने जस्ता आपराधिक गतिविधि गरेका कारण पक्राउ गरेको ईलाका प्रहरीका डीएसपी हेमबहादुर शाहीले बताउनुभयो । 

प्रहरीले दुबैको साथबाट पार्टीको दस्ताबेज, मोबाईल, सिमकार्ड, बिस्फोटका लागि राखिएको तार लगायत सामान बरामद गरेको छ । डीएसपी शाहीका अनुसार गत पुस १५ गते गुजरा नगरपालिका ८ स्थित जुगौलीमा रहेको एनसेलको टावर, यही माघ १३ गते चन्द्रपुर २ कलटोलमा रहेको एनसेलको टावरमा आगजनीमा उनीहरुको संलग्नता देखिएको प्रहरीले जनाएको छ । 

पक्राउ परेका दुबैमाथि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । दुबैलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २६ अनुसार आपराधिक उपद्रो सम्बन्धी कसुरमा अनुसन्धान सुरु गरिएको डीएसपी शाहीले बताउनुभयो । 

यस्तै, चन्द समूहका नारायणी ब्यूरो ईन्चार्ज शितलले विज्ञप्ति जारी गर्दै पक्राउ परेका रौतहट जिल्ला सेक्रेटरी शाही र सदस्य बललाई बिनासर्त रिहा गर्न माग गरेका छन् । 


प्रतिक्रिया