कालीगण्डकी नदीमा बेपत्ता दुई बालकको शव फेला

जेष्ठ ८, २०७७ | पाल्पा

कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा आइतबार बेपत्ता भएका दुई बालकको शव बिहीबार फेला परेको छ । पाल्पाको रामपुर नगरपालिका–१०, गेझा सिकोडाँडाका १० वर्षीय सुनिल भट्टराई र १० वर्षीय समिर चापागाँई घर नजिकैको मलौटेघाटबाट पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए ।

 प्रहरी र स्थानीयले खोजी गर्ने क्रममा चापाकोट नगरपालिका–७, वनकट्टटा स्याङ्जामा दुबैको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बुधबार नदी किनारामा माछा मार्न गएका स्थानीयहरुले शव देखेपछि स्याङजा चापाकोटका प्रहरीलाई खबर गरेका थिए । 

आफन्तलाई बोलाएर शव हेर्न लगाउँदा हातका औलाबाट शवको पहिचान गरेका थिए । दुबैको शव रामपुर अस्पतालमा ल्याएर पोष्ट मार्टम गरी आफन्तको जिम्मा लगाएको प्रहरीले जनाएको छ । 

कालीगण्डकी नदीमा पानी धमिलो भएको र खोजी कार्यमा अप्ठेरो परेको हुँगी प्रहरी चौकीले जनाएको छ । हरेक वर्ष कालीगण्डकी नदीमा १० भन्दा बढी व्यक्ति पौडी खेल्ने, माछा मार्ने र नुहाउने क्रममा डुबेर बेपत्ता हुने गरेको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया