चटयाङ लागेर सप्तरीमा ३ को मृत्यु, २ घाइते

असार ११, २०७७ | राजविराज

चटयाङ लागेर बिहीबार बिहान सप्तरीमा ३ जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते छन् । कोसी नदीमा स्नान गर्न गएको बेला कोसी ब्यारेजको पुल नजिक चटयाङ लागेर २ जनाको मृत्यु भएको हो । 

महदेवा गाउँपालिका–२ का ६० वर्षीय छेदी ठाकुर र २७ वर्षीय बेचन यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्याल्य सप्तरीका प्रहरी निरीक्षक सन्तोष खडकाले जानकारी दिनुभयो । घरमा पूजा लगाएर स्नान गर्न उनीहरु कोसी ब्यारेज पुगेका थिए । 

यस्तै, खेतमा धान रोप्न गएको बेला चटयाङ लागेर डाकेश्वरी नगरपालिका–९ लछनपटीका ३० वर्षीया ललितादेवी यादवको मृत्यु भएको प्रहरी निरीक्षक खडकाले बताउनुभयो ।

चटयाङ लागेर सप्तरीको राजगढ गाउँपालिका बेल्ही चपेनामा २ जना गम्भीर घाइते भएका छन् । खेतमा काम गरिईरहेका ४५ वर्षीय केसी साह र आफनै आगँनमा काम गरिईरहेकी १८ वर्षीया आशा मण्डललाई चटयाङ लागेर घाइते भएका थिए । 

उनीहरुलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भर्ना गरिएको छ । मध्यराति देखि वर्षा भईरहेको सप्तरीमा विभिन्न स्थानमा चटयाङ खसेको थियो । 


प्रतिक्रिया