चटयाङ लागेर सप्तरीमा ४ को मृत्यु, १ घाइते

असार ११, २०७७ | राजविराज

चटयाङ लागेर सप्तरीमा आज ४ जनाको मृत्यु भएको छ । १ जना गम्भीर घाइते भएका छन् । कोसी नदीमा नुहाउन गएका बेला कोसी ब्यारेजको पुल नजिक चटयाङ लागेर २ जनाको मृत्यु भएको हो । 

महदेवा गाउँपालिका–२ का ६० वर्षीय छेदी ठाकुर र २७ वर्षीय बेचन यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्याल्य सप्तरीका प्रहरी निरीक्षक सन्तोष खडकाले जानकारी दिनुभयो । 

यस्तै, खेतमा धान रोप्न गएका बेला चटयाङ लागेर डाकेश्वरी नगरपालिका–९ लछनपटीका ३० वर्षीया ललितादेवी यादवको मृत्यु भएको प्रहरी निरीक्षक खडकाले बताउनुभयो ।

यस्तै, चटयाङ लागेर घाइते भएका राजगढ गाउँपालिका बेल्ही चपेनाका ४५ वर्षीय केसी साहको पनि मृत्यु भएको छ । 

खेतमा काम गरिईरहेका बेला चट्याङ लागेर घाइते भएका साहको उपचारको क्रममा मृत्यु भएको सप्तरीका डीएसपी तिलक भारतीले बताउनुभयो । 

१८ वर्षीया आशा मण्डल भने घाइते भएका थिए । उनको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचार भईरहेको छ । 


प्रतिक्रिया