वडा अध्यक्षमाथि आक्रमण गर्ने तीन पक्राउ

असार १७, २०७७ | दाङ

दाङको शान्तिनगर गाउँपालिका–२ का अध्यक्ष फर्साराम डाँगीलाई आक्रमण गरेको आरोपमा प्रहरीले बुधबार तीन जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा शान्तिनगर ४ घर भई हाल तुलसीपुर उपमहागनरपालिका–५ मासुमार्केट बस्ने २९ वर्षीय अर्जुन शाही, शान्तिनगर गाउँपालिका–२ सिमसुन्दरपुर निवासी ५१ वर्षीय इन्द्रबहादुर वली र शान्तिनगर–३ भलानेटी निवासी ३८ वर्षीय रेशमबहादुर विक रहेका छन् । 

उनीहरुविरुद्ध ज्यान मार्ने उद्योग मुद्दामा अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रुमख डीएसपी शिवबहादुर सिंहले बताउनुभयो । वडाध्यक्ष डाँगीलाई मंगलबार दिउँसो एक समूहले कार्यालयभित्रै पसी फलामको रड र लाठी प्रहरी गरेर घाइते बनाएको थियो । 

डाँगीको हात, खुट्टा र टाउकोमा चोट लागेको छ । उनलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि मंगलबार नै थप उपचारका लागि हेलिकोप्टरमा काठमाडौं ल्याइएको थियो ।

पक्राउ परेकाहरु प्रतिबन्धित नेत्रविक्रम चन्द समूहका कार्यकर्ता रहेको प्रहरीले जनाएको छ । चन्द समूहले मंगलबार एक प्रेस विज्ञप्ति जारी गरी डाँगीमाथि भएको आक्रमणको जिम्मेवारी लिएको थियो । 

भ्रष्टाचार गरेको, गाउँमा संगठित रुपमा जुवा खेलाएको र सर्वसाधारणलाई दु:ख दिएका कारण डाँगीलाई कारबाही गरिएको चन्द समूहका शान्तिनगर गाउँपालिका सेक्रेटरी कमल सिंहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


प्रतिक्रिया