आत्महत्या दुरुत्साहन आरोपमा मोरङबाट दुई पक्राउ

असार ३०, २०७७ | सुनसरी

आत्महत्या दुरुत्साहनको आरोपमा प्रहरीले एक महिला र एक पुरुषलाई पक्राउ गरी मुद्दा चलाएको छ । सुनसरी जिल्ला अदालतका एक न्यायाधीशको सुरक्षामा खटिएका प्रहरी हवल्दार ओमप्रकाश खतिवडाको आत्महत्या घटनामा संलग्न रहेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरी मुद्दा चलाएको हो ।

मोरङको उर्लाबारी–२ राजघाटबाट तीनदिन अघि पक्राउ परेका उनीहरुलाई सुनसरी प्रहरीले मंगलबार मात्र सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरिक्षक विनोद शर्माका अनुसार मृतक खतिवडाका भाईले दिएको जाहेरीको आधारमा दीक्षा खतिवडा र उनकी प्रेमी भनिएका विशाल तामाङलाई पक्राउ गरी मुद्दा चलाएको हो । 

असार १६ गते आफैले बोकेको पेस्तोलले कन्चटमा प्रहार गरी हवल्दार खतिवडाले आत्महत्या गरेका थिए । दीक्षा, प्रहरी हवल्दार ओमप्रकासका श्रीमती हुन् । उनीहरुलाई मोरङको उर्लाबारी नगरपालिका–२ राजघाटबाट पक्राउ गरिएको हो । 

प्रहरी नायब उपरिक्षक शर्माले भन्नुभयो, ‘मृतक खतिवडालाई पहिले देखि नै आफ्नो श्रीमती अरुसँग लागेको शंका गर्दै आएका थिए । श्रीमती दीक्षा र विशालकै कारण उनी डिप्रेसनमा पुगेका थिए ।'

कल डिटेल अनुसार आत्महत्या गरेको समयमा उनले श्रीमतीलाई र विशाललाई फोन गर्दा लामो समय दुबैको मोबाइल व्यस्त भएपछि डिप्रेसन र आवेशमा आएर आफैले बोकेको पेस्तोलले प्रहार गरी आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

आत्महत्या दुरुत्साहन आरोपमा पक्राउ परेका विशाल तामाङ खतिवडाकै छिमेकी हुन् । आत्महत्या दुरुत्साहन गरेको प्रमाणित भए दीक्षा र विशाललाई ५ वर्ष जेल सजाय र ५० हजार जरिवाना हुन सक्छ । 

आत्महत्या दुरुत्साहन बारे अपराध संहिताको दफा १८५ को उपदफा १ मा ‘कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन गर्न दिने वा त्यस्तो काम गर्नेसम्मको परिस्थिति खडा गर्नेलाई पाच वर्ष कैद र ५० हजार रुपैया जरिवाना हुने प्रावधान रहेको छ ।


प्रतिक्रिया