‘भाइरल म्यान’ अर्जुन विक धरौटीमा रिहा

माघ १५, २०७७

जबरजस्ती करणी, अपहरण र शरीर बन्धक मुद्दामा पक्राउ परेका कैलालीका २४ वर्षीय अर्जुन विक धरौटीमा रिहा भएका छन् । 

जिल्ला अदालत कैलालीले अर्जुनलाई ५० हजार रुपैयाँ धरौटीमा रिहा गरेको जिल्ला सरकारी वकिलको कार्यालयका सूचना अधिकारी सुरबहादुर परियारले बताउनुभयो । 

गत साउन १७ गते दुई वर्षीय छोरालाई पिठ्युमा बोकेर काठमाडौंको अनामनगरमा रिक्सा चलाएको फोटो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि अर्जुन भाइरल भएका थिए ।

१३ वर्षमा बिहे गरेर १५ वर्षमा छोरा जन्माएकी श्रीमती पोइला गएको भन्दै झुटो खबर बताएर सामाजिक सञ्जाल र युट्युबमा भाइरल भएपछि अर्जुनले आधा दर्जन भन्दा धेरै म्युजिक भिडियोमा अभिनय गर्ने मौका पाएका थिए । 

जिल्ला प्रहरी कार्यालय कैलालीले अर्जुनलाई यही माघ ८ गते काठमाडौंको तीनकुनेबाट पक्राउ गरेको थियो । अर्जुनविरुद्ध गत भदौ ११ गते जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दर्ता भएको थियो । 

अर्जुनले २०७३ जेठ ३० देखि २०७७ साउन १५ गतेसम्म आफूलाई बन्धक बनाएर काठमाडौंमा राखेको तथा बलात्कार गरेको भन्दै पीडितले कैलाली प्रहरीमा उजुरी दिएकी थिईन् । उजुरीकर्तालाई नै अर्जूनले आफ्नो श्रीमती बताउँदै आएका थिए । अर्जुनको स्थाई घर कैलालीको घोडाघोडी नगरपालिका–२ साँडेपानी हो ।    


प्रतिक्रिया