घरायसी विवादमा कुटपिट गरी बुबाको हत्या

वैशाख १, २०७८ | मोरङ

घरायसी विवादमा कुटपिट गरी बुबाको हत्या गरेको अभियोगमा मोरङबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–५ निवासी अजय साह रहेका छन् ।

सामान्य घरायसी विवादमा अजयले बुबा ६५ वर्षीय काले साहमाथि चैत २६ गते निर्घात कुटपिट गरेका थिए । कुटपिटबाट घाइते भएका कालेको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताउनुभयो । 

कुटपिटबाट ६५ वर्षीय काले साहको मृत्यु भएपछि उनका छोरा अजय साहलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । कुटपिट पछि फरार रहेका अजयलाई लुकिछिपी बसेको अवस्थामा विराटनगर–५ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यसअघि, घरायसी विवादमै विराटनगर–८ मा छोराको कुटपिटबाट ५४ वर्षीय विको सहनीको पनि गत आइतबार मृत्यु भएको थियो । मदिरा पसल चलाइरहेका सहनीलाई उनको माहिलो छोरा रवीले कुटपिट गरी घाइते बनाएका थिए । 

कुटपिट पछि घाइते भएका उनको कोशी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । सहनीको मृत्युपछि फरार रहेका रवीलाई प्रहरीले खोजी गरिरहे पनि फेला पार्न सकेको छैन । 


प्रतिक्रिया