जुवाको खालबाट पक्राउ परेका विरुद्ध जवरजस्ती करणी मुद्दा

जेष्ठ २६, २०७८ | हेटौंडा

हेटौंडा–४ बैंक रोडस्थित जुवाको खालबाट नगदसहित पक्राउ परेका ६ जनालाई प्रहरीले जवरजस्ती करणी मुद्दा दर्ता गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालका अनुसार खालबाट पक्राउ परेका पाँच जना र अनुसन्धानको क्रममा पक्राउ परेका थप एक जनाले एक किशोरीलाई बन्धक बनाएर जबरजस्ती करणी गरेको खुल्न आएको छ ।

 किशोरीले आफूलाई बन्धक बनाई जवरजस्ती करणी गरेको उजुरी दिएपछि उनीहरुमाथि जवरजस्ती करणी अन्तर्गत मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । जुवाको खालबाट पक्राउ परेकी पीडित किशोरीले आफूलाई बन्धक बनाएर जवरजस्ती करणी गरेको उजुरी दिएकी थिइन् । उजुरीका आधारमा थप एक जनालाई आज विहान पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रिमालले जानकारी दिनुभयो । पक्राउ परेकाहरुमाथि जवरजस्ती करणी अन्तर्गत मुद्दा दर्ता भइसकेको र अनुसन्धानका लागि दश दिनको म्याद थप गरिएको छ ।

 प्रहरीले जुवाको खालबाट ४० बर्षीय रुस्तम कोइराला, ५४ बर्षीय अमर प्रधान, ४० बर्षीय प्रकाश मानन्धर, ३३ बर्षीय विनोद घर्ती र चितवन घर भएका ४४ बर्षीय सुरेश पौडेललाई पक्राऊ गरेको थियो । प्रहरीले घटनामा संलग्न भएको उजुरीका आधारमा ५० बर्षीय अख्तर हुसेनलाई उजुरी पश्चात पक्राउ गरेको हो । जुवाको खालबाट प्रहरीले ६ बुक तास र २८ हजार रुपैयाँ जफत गरेको थियो ।


प्रतिक्रिया