जनमुक्तिद्वारा श्रमिकलाई राहत वितरण

असार २, २०७८ | तिलोत्तमा

राष्ट्रिय जनमुक्ति पार्टी रुपन्देहीले १८ दिने राहत, फलफूल वितरण तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । 

कोरोना भाइरस महामारीका कारण असहज परिस्थितिमा दैनिक मजदुरी गर्ने श्रमिकलाई राहत, अस्पताल पुगेका बिरामी, तीनका आफन्त, सडक बालबालिका र सुरक्षाकर्मीलाई खाना, खाजा उपलब्ध खुवाएको राष्ट्रिय जनमुक्ति पार्टी जिल्लाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक टेकबहादुर गुरुङले बताउनुभयो । 

पार्टीका विभिन्न तहका पदाधिकारी र सदस्यबाट संकलित २ लाख रुपैयाँबाट सुरु गरिएको अभियानमा अन्य सहयोगी थपिएपछि १८ दिनसम्म कार्यक्रम सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो । ‘देश/विदेशदेखि सहयोग जुटेपछि ११ लाख रुपैयाँ खर्च गरी अभियान सम्पन्न गर्‍यौं, उहाँले भन्नुभयो, ‘मानवीय सेवा गर्न पाउंदा सन्तुष्ट भएका छौं ।’

१८ दिनसम्म चलेको अभियानमा ७ हजार २ सय प्याकेट खाना, ४ हजार छ सय प्याकेट फलफूल, ११ हजार ७ सय पानी, ५ सय थान मास्क र ५ सय परिवारलाई राहत वितरण गरेको गुरुङले जानकारी दिनुभयो । 

उनीहरुले कोरोना विशेष अस्पताल बुटवल, भीम अस्पताल भैरहवा र आम्दा अस्पतालका बिरामी तथा आफन्त र सडक बालबालिकालाई खाना खुवाएका थिए । 

त्यस्तै, बुटवल उपमहानगरपालीकाका ५२, तिलोत्तमाका २ सय २८, सिद्धार्थनगर नगरपालिकाका १ सय ५, स्याङ्जाका १५ र देवदह नगरपालिकाका १ सय घरधुरीलाई वडा कार्यालयको सिफारिसमा राहत प्रदान गरिएको जनमुक्ति युवा महासंघका अध्यक्ष शंकर गाहाले बताउनुभयो । 

राहत प्याकेजमा १० किलो चामल, ५ किलो आटा, १ लिटर तेल, १ प्याकेट नुन र एक प्याकेट सोयाबिन र फलफूल दिईएको उहाँले जानकारी दिनुभयो । साथै महामारीका बेला बिरामी परेका कसैलाई पनि रगत अभाव नहोस् भनी रक्तदान मार्फत ५५ पोइन्ट रगत संकलन गरेको समेत गाहाले जानकारी दिनुभयो । 


प्रतिक्रिया