बाघको आक्रमणबाट बर्दियामा एक जनाको मृत्यु

श्रावण ३, २०७८ | बर्दिया

बाघको आक्रमणबाट बर्दियामा एक पुरुषको मृत्यु भएको छ । शनिबार भैंसी चराउन सामुदायिक वनमा गएका ठाकुरबाबा नगरपालिका–६ मोतीपुरका ७० वर्षीय गोरे थापाको बाघको आक्रमणबाट मृत्यु भएको हो । 

काली–गौडी मध्यवर्ती क्षेत्र सामुदायिक वनमा भैंसी चराउन गएका उनलाई बाघले आक्रमण गरी मारेको अवस्थामा आज बिहान शव फेला परेको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु श्रेष्ठले बताउनुभयो ।

राति अबेरसम्म घर नफर्केपछि निकुञ्ज, स्थानीय लगायत हात्ती, सुरक्षा निकायले खोजी गर्दा ७० वर्षीय थापा मृत अवस्थामा भेटिएका थिए । 

घटनास्थल ओराही पुल नजिक रहेको निकुञ्जले जनाएको छ । निकुञ्ज प्रशासनले घना जंगल, निकुञ्ज क्षेत्रमा चरिचरण, घाँस, दाउरा, साग टिप्न नजान स्थानीयलाई आग्रह गर्दै आएको छ ।


प्रतिक्रिया