४५९ रुपैयाँ चोर्ने व्यक्ति ३८ वर्षपछि पक्राउ

आश्विन ५, २०७८ | कञ्चनपुर

चोरी मुद्दामा फरार रहेका व्यक्ति ३८ वर्षपछि कञ्चनपुरबाट पक्राउ परेका छन् । जिल्लाको दक्षिणी क्षेत्र बेलौरीमा रहेको लारा डिष्टलरीबाट संकलन भएको अन्तशुल्कको ४५९ रुपैयाँ चोरी गर्ने साविकको लक्ष्मीपुर गाविस–८ का जगत बहादुर बुढाथोकीलाई मंगलबार पक्राउ गरी जिल्ला अदालतमा बुझाएको हो । 

डिष्टलरीका कर्मचारी रामजन सहनी समेतका कर्मचारीहरु २०४० मा पुनर्वासमा रहेको राष्ट्रिय वाणिज्य बैंकमा जम्मा गर्न जाने क्रममा बन्चरो, काठको चिर्पट र बन्दुक लगायत हतियार लिएर बसेका बुढाथोकीले सहनीलाई कुटपिट गरी रकम लुटेको प्रहरीले जनाएको छ । जिल्ला अदालत कञ्चनपुरले २०४२ बैशाखमा ३ वर्ष १ महिना कैद सजाय तोकेको थियो ।

यसैबीच प्रहरीले हातहतियार कसुरका फरार २ जनालाई मंगलबार पक्राउ गरेको छ । जिल्ला अदालत कञ्चनपुरले ३ वर्ष कैद र ३० हजार जरिवाना तोकको शुक्लाफाँटा नगरपालिका–९ का २४ वर्षीय बर्खे चौधरी र २ वर्ष कैद तथा २० हजार जरिवाना तोकेका कृष्णपुर नगरपालिका–३ का गोपाल सुनारलाई उनीहरुकै घरबाट पक्राउ गरी अदालतमा बुझाएको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया