अपहरण गरेको आरोपमा हेटौंडाबाट चार जना पक्राउ

आश्विन १०, २०७८ | मकवानपुर

अपहरण गरेको आरोपमा मकवानपुर प्रहरीले आइतबार चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–१० बस्ने ३९ वर्षीय विनोदलाल श्रेष्ठ, ३० वर्षीय अनिल लामा, हेटौंडा–५ बस्ने ३२ वर्षीय बुद्ध लामा र हेटौंडा– २ बस्ने २७ वर्षीय आदेश लामा छन् । 

हेटौंडा– ११ थानाभर्‍याङ ४० वर्षीय जितेन्द्र विश्वकर्मालाई अपहरण गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताउनुभयो । 

उनीहरुलाई प्रहरीले हेटौंडा–५ स्थित मकवानपुर रिकभरिङ समूहको हाताभित्रबाट पक्राउ गरिएको हो । विश्वकर्मा हेटौंडा–१०, वासुदेवमार्गमा सुनचाँदी पसल सञ्चालक गर्छन् ।

विश्वकर्मालाई बा २० च ८९६० नम्बरको सेतो कारमा आएका अपरिचित व्यक्तिहरुको समूहले अपहरण गरेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले तत्काल खोजतलास गर्ने क्रममा रिकभरिङ समूहको कार्यालय अगाडि सो कार फेला पारेको थियो । 

अपहरित विश्वकर्मालाई सकुशल उद्धार गरी पक्राउ गरेकाहरुमाथि आवश्यक अनुसन्धान अघि बढाइएको मकवानपुर प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ परेकाहरुको थप अनुसन्धानका गर्न जिल्ला अदालतबाट १५ दिनको म्याद समेत थप गरिसकेको छ । 

प्रहरी नायब उपरीक्षक जयश्वर रिमालका अनुसार पक्राउ परेकाहरु लागूऔषध दुव्र्यसनीविरुद्ध काम गरिरहेका युवाहरु हुन् ।


प्रतिक्रिया