धर्म परिवर्तन गराएको आरोपमा ४ कोरियाली पुर्पक्षका लागि थुनामा

आश्विन ११, २०७८ | पोखरा

विभिन्न प्रलोभन देखाएर धर्म परिवर्तन गराएको आरोपमा पक्राउ चार कोरियाली नागरिकलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । 

सोमबार जिल्ला अदालतले पोखराको पृथ्वीचोकस्थित अन्ना पाउल गेष्ट हाउसका सञ्चालक पार्क ब्योंकसुक, किम हिङकुङ, लि जिओनगा र किम युङहिलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएकोहो । 

सोमबार थुनछेक बहसपछि जिल्ला न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलाशले चारैजना कसुरदार होइनन भनि भन्न नमिल्ने भन्दै कारागार पठाउने आदेश गरेको हो । 

जिल्ला अदालतका सूचना अधिकारी निलप्रसाद पनेरुका अनुसार फौजदारी कार्यविधि संहिताको दफा ६७ बमोजिम उनीहरु पुर्पक्षका लागि थुनामा पठाइएको हो । ‘प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने नै हुँदा हाललाई कारागार पठाउनु’ आदेशमा भनिएको छ । 

गेष्टहाउसमा व्यक्ति जम्मा गरेर खाजा खुवाउने, यशुको भजनकिर्तन गर्ने, आर्थिक सहयोग र उपचार खर्च, बालबालिकालाई निशुल्क विद्यालय पढाउने, चर्चमा लैजाने र धर्म परिवर्तन गराएको कोरियाली नागरिकमाथि स्थानीयले आरोप लगाएका थिए । 

कतिपय किशोरकिशोरीलाई ट्युशन पढाउने क्रममा क्रिश्चियन धर्म सम्बन्धी काम गर्ने, बाइबलका श्लोक र भजन गाउन लगाउने आरोप लागेपछि भदौ २९ मा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । 


प्रतिक्रिया