बैंकिङ् कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौंबाट पक्राउ

आश्विन १२, २०७८ | काठमाडौं

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली बैंकिङ् कसूर मुद्दाका फरार प्रतिवादीलाई काठमाडौंबाट पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा खोटाङको जन्तेढुङ्गा गाउँपालिका–३ घर भई हाल काठमाडौंको कपन बालुवाखानी बस्ने वर्ष २६ को खगेन्द्र खत्री रहेका छन् । खत्रीलाई काठमाडौंको बालुवाखानी पक्राउ गरिएको सीआईबीले जनाएको छ । 

उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी झुक्याएर ग्लोबल आईएमई बैंकको खाताबाट भुक्तान हुनेगरी पीडितलाई १० लाख ६५ हजार ९ सय रुपैयाँको चेक काटेर दिएका थिए । 

उच्च अदालत पाटनले २०७७ पुस २८ गते बैंकिङ कसूर मुद्दामा खत्रीलाई ४ दिन कैद र १० लाख ६५ हजार ९ सय रुपैयाँ जरिवाना सुनाएको थियो । 

बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) बमोजिमको कसूरमा ठहर गरी उच्च अदालत पाटनले खत्रीलाई सो सजायँ हुने गरी फैसला सुनाएको थियो । पक्राउ परेका उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ ।


प्रतिक्रिया