सामूहिक बलात्कारको अभियोगमा इटहरीबाट ५ पक्राउ

बलात्कार आरोपित सुनिल चौधरी । तस्बिर सौजन्य: जिल्ला प्रहरी कार्यालय सुनसरी । 

आश्विन १८, २०७८ | सुनसरी

सामूहिक बलात्कारको अभियोगमा सुनसरीको इटहरीबाट ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । ६ जनाको समूहले बलात्कार गरेको लिखित उजुरीपछि प्रहरीले आइतबार उनीहरुलाई पक्राउ गरेको हो । एकजना फरार छन् । 

पक्राउ परेकामध्ये चार जना १८ वर्ष मुनिका रहेकाले नाम र ठेगाना नखुलाएको प्रहरीले जनाएको छ । घट्ना असोज १५ गते राति ७ बजेको हो । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक केशव कट्वालका अनुसार इटहरी उपमहानगरपालिका–८ भुर्की भन्ने ठाउँमा इटहरी–९ बस्ने एक महिलालाई ६ जना पुरुषले कुटपिट गरी जबरजस्तीकरणी गरेका थिए । 

करणीपछि ती महिलाको साथबाट सुनको सिक्री र ३ हजार रुपैयाँ समेत लुटेको उजुरीपछि ५ जनालाई प्रहरीले पक्राउ गरेको हो । करणीमा संलग्न मध्ये गोमन भन्ने सुनिल चौधरीलाई शनिबार इटहरी–१४ स्थित घरबाटै पक्राउ गरिएको थियो भने अन्य चार जनालाई खोजतलासपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

पक्राउ परेका र पीडित महिलाको स्वास्थ्य जाँच इनरुवा जिल्ला अस्पतालमा भइसकेको छ । पक्राउ परेका सबैलाई जिल्ला अदालतबाट मुलुकी अपराध संहिता २०७४ अन्तर्गत जबरजस्ती करणी सम्बन्धी कसूरमा पाँच दिनको म्याद थपेर अनुसन्धान भइरहेको र फरार एक अभियुक्तको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया