रोहिणी हत्याका मुख्य योजनाकार काठमाडौंबाट पक्राउ

आश्विन १९, २०७८ | रौतहट

रौतहटको चन्द्रपुर नगरपालिका–३ का ५० वर्षीय रोहिणीप्रसाद घोरासैनीको हत्याका मुख्य योजनाकार काठमाडौंबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा गैडाटारकै ३८ वर्षीय डोल प्रसाद बोलखे रहेका छन् । 

१४ वर्ष पुरानो प्रतिशोध साँध्न छिमेकीको हत्या गरी फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले काठमाडौं प्रहरीको सहयोगमा दरबारमार्ग क्षेत्रबाट पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो । सो घट्नामा संलग्न अन्य तीन जना यसअघि नै पक्राउ परिसकेका छन् । 

गत भदौ २६ गते घोरासैनीलाई नजिकको जंगलमा घाँस काट्न गएको मौका छोपी हत्या गरेर रुखमा झुण्ड्याइको अवस्थामा भेटिएको थियो । हत्यापछि बोलखे फरार थिए ।

इलाका प्रहरी चन्द्रनिगाहपुरका डीएसपी लिलाराज लामीछानेका अनुसार बोलखेले गैंडाटारकै प्रल्हाद फुयाँलको सहयोगमा सिन्धुलीको पिपलमाडी–९ घर भई हाल पर्साको पर्सागढी नगरपालिका–३ सृजना टोलमा बस्दै आएका रमेश पहरी र पूर्वी नवलपरासीको कावासोती नगरपालिका–८ का सूर्य बहादुर भण्डारीलाई ३ लाख सुपारी दिएर घोरासैनीको हत्या गर्न लगाएका थिए । उनीहरुबीच पुरानो रिस थियो । 

मृतक रोहिणीप्रसाद र योजनाकार बोलखेको परिवार २० वर्षदेखि गैंडाटारमा छिमेकी थिए । रोहिणीका बुबा भीमदत धामी झाक्रीको काम गर्थे । बोलखेका परिवारमा कोही बिरामी परे भीमदत्तले तन्त्रमन्त्र गरेको आरोप लगाउँथे । यही कारण दुबै परिवारबीच मनमुटाव उत्पन्न भएको थियो । 

बोलखेले रिसिइबी साँध्न करीब १३ वर्षअघि पनि भीमदत्तलाई आक्रमण गरी घाइते बनाएका थिए । त्यतिबेला गाउँमै छलफलपछि मिलापत्र भएको थियो  । त्यसपछि बोलखे परिवार गैंडाटार छाडेर चन्द्रपुर–४ कप्तान टोल बस्दै आएका थिए । तर, घोरासैनी परिवारप्रति उनको तुस मेटिएको थिएन । 

उनले गैंडाटारमै बसेर घोरासैनीको हत्या गर्ने योजना बुन्न थालेको अनुसन्धानबाट खुल्न आएको डीएसपी लामिछानेले जानकारी दिनुभयो । प्रहरीका अुनसार हत्या गर्न बोलखेले प्रल्हादको साथ लिएका छन् । 

मृतकका बुबा भीमदत्तलाई २०६४ सालमा बोलखे परिवारले ‘बोक्सा’ भनेका थिए । भीमदत्तको ०७५ सालमा मृत्यु भइसकेको छ  । त्यति बेलादेखिको रिसिइबी साँध्न बोलखेले रोहिणी प्रसादको हत्या गर्न मान्छे लगाएको प्रहरीको भनाइ छ । पक्राउ परेका बोलखेलाई अदालतबाट म्याद थपेर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया