रुपन्देहीमा नदीमा डुबेर एक युवकको मृत्यु

आश्विन ३१, २०७८ | तिलोत्तमा

रुपन्देहीमा दुर्गा मूर्ति बिसर्जन गर्ने क्रममा नदीमा डुबेर एक युवकको मृत्यु भएको छ । दुर्गा मूर्ति बिसर्जन गर्न गएका बेला पौडी खेल्ने क्रममा नदीमा डुबेर कोटहीमाई गाउँपालिका–४ कदमहवाका १९ वर्षीय अनिल चौधरीको मृत्यु भएको हो ।

दानव नदी र तिनाउ नदीको संगमस्थल कोटहीमाई गाउँपालिका–५ स्थित दुईमोहानमा दुर्गा मूर्ति बिसर्जनका क्रममा डुबेर बेपत्ता भएका चौधरीको शव आइतबार बिहान ७ बजे घटनास्थल भन्दा ५ सय मिटर तल झाडीमा फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक भाष्कर चन्दले बताउनुभयो । 

शुक्रबारदेखि नै मूर्ति बिर्सजन गर्न नदीमा आएका स्थानीयलाई सावधानी अपनाउन आग्रह गरिएको इलाका प्रहरी कार्यालय मझगावांका प्रमुख प्रहरी निरीक्षक सुरज खत्रीले बताउनुभयो । 

‘शनिबार दिउंसो साढे २ बजे मूर्ति बिसर्जन गर्न आएकामध्ये युवामध्ये केही युवा पानीमा पसेर पौडी खेल्न थाले, ‘उहाँले भन्नुभयो, ‘पौडी खेल्ने क्रममा एक जना युवा डुबेर बेपत्ता भएका थिए । शव पोष्टमार्टम पश्चात परिवारलाई बुझाईएको प्रहरी निरीक्षक चन्दले जानकारी दिनुभयो । 

गत वर्ष सोही स्थानमा मूर्ति विसर्जन गर्न गएका सम्मरीमाई–६ महदेहियाका मुकेश चौधरीको पनि पौडी खेल्ने क्रममा मृत्यु भएको थियो । नदीमा डुबेर बेपत्ता भएका चौधरीको शव २० घण्टापछि फेला परेको थियो ।


प्रतिक्रिया