बुबाको हत्या गरी फरार अभियुक्त झण्डै २ दशकपछि पक्राउ

आफ्नै बुबालाई बञ्चरो प्रहार गरी हत्या गरेर फरार रहेका चन्द्रप्रसाद पराजुली । तस्बिर: रेडियो कान्तिपुर । 

कार्तिक २६, २०७८ | लमजुङ

बुबाको हत्या गरी फरार रहेका अभियुक्त २ दशकपछि लमजुङबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय लमजुङका डीएसपी कृष्णबहादुर कार्कीका अनुसार राइनास नगरपालिका–४ का ४१ वर्षीय चन्द्र प्रसाद पराजुलीलाई उनकै घरबाटै पक्राउ गरिएको हो । 

२०५८ मंसिर १ गते पराजुलीले बुबा त्यतिबेला ५५ वर्षीय खगेश्वर पराजुलीलाई बञ्चरो प्रहार गरी गोबर ग्यासको सेफ्टी ट्याङ्कीमा फालेर हत्या गरेको अभियोग लागेको थियो । घटनापछि फरार रहेका उनलाई प्रहरीले कात्तिक २२ गते पक्राउ गरेको थियो । 

‘आफ्नै बुबाको हत्या गरेपछि यो मान्छे कहाँ गयो थाह भएन । तर, पछिल्लो समय घरमै रहेको बुझियो,’ डीएसपी कार्कीले भन्नुभयो, ‘यसअघि पक्राउ नपरेका पराजुली अहिले हामीले पक्राउ गर्न सफल भयौं ।’

पराजुलीलाई पक्राउ गरी अनुसन्धान पूरा गरेर शुक्रबार जिल्ला सरकारी वकिल कार्यालय लमजुङबाट अभियोग पत्रसाथ जिल्ला अदालत लमजुङमा पेश गरिएको डीएसपी कार्कीले बताउनुभयो । 

अदालत पेश गरिएका उनलाई शुक्रबार नै पुर्पक्षको लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्सपेक्टर जगदिश रेग्मीले बताउनुभयो । 

‘अपराध गरेको झण्डै २० वर्षसम्म लुकिछिपी बसेका अभियुक्तलाई हामीले पक्राउ गरेर अदालतमा बुझाएका छौँ । अदालते पुर्पक्षका लागि कारागार चलान गरेको छ,’ उहाँले भन्नुभयो, ‘मुद्दा पुर्पक्षमा छ । अब जे गर्छ, अदालतले गर्छ ।’


प्रतिक्रिया