त्रिभुवन विमानस्थलबाट एकै दिन २१ केजी सुन बरामद

रेडियो कान्तिपुर संवाददाता

मंसिर १४, २०७८ | काठमाडौं

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकैदिन २१ केजी सुन बरामद भएको छ । विदेशबाट आएका ४ सय १५ जना यात्रुबाट भन्सार छली भित्राईएको २१ केजी सुन बरामद भएको विमानस्थल भन्सार कार्यालका प्रमुख प्रशासक महेश भट्टराईले जानकारी दिनुभयो । ४ सय १५ यात्रुबाट प्रतिव्यक्ति ५० देखि ६० ग्रामसम्म काँचो सुन बरामद भएको उहाँको भनाई छ । 

बरामद सुन भन्सार कार्यालयले जफत भने गरेको होईन् । प्रमुख प्रशासक भट्टराईका अनुसार १ सय ९५ यात्रुले भन्सार महशुल तिरेर सुन लगिसकेका छन् । ती यात्रुबाट १० केजी काँचो सुनको भन्सार जाँचपास गरेर करिब ९४ लाख रुपैयाँ राजस्व संकलन भएको उहाँले बताउनुभयो । बाँकी यात्रुले भने सुन भन्सारकै लकरमा राखेका छन् । 

उनीहरुले ६० दिनभित्र आफूले तिर्नुपर्ने भन्सार रकम तिरेर सो सुन लैजान सक्छन् । विमानस्थल भन्सार कार्यालयका अनुसार एक व्यक्तिले सुन आयात गर्दा अधिकतम ५० ग्रामसम्म ल्याउन पाउँछ । सो व्यवस्था अन्तर्गत प्रति १० ग्राम सुनको ९ हजार ५ सय र त्यो भन्दा माथिको प्रति १० ग्राम १० हजार ५ सय रुपैयाँ भन्सार राजस्व तिर्नुपर्छ । 


प्रतिक्रिया