छात्रामाथि बलात्कार आरोपमा प्रधानाध्यापक पक्राउ

पुस १, २०७८ | नेपालगञ्ज

छात्रामाथि बलात्कार अभियोगमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१८ कारकाँदोस्थित स्प्रिङडेल एकेडेमीका अध्यक्ष एवं प्लस टू तर्फका फाउण्डर प्रिन्सिपल हिक्मत रावल पक्राउ परेका छन् । १७ वर्षीया छात्रामाथि बलात्कार गरेको आरोपमा रावललाई प्रहरीले पक्राउ गरेको हो ।

पीडित किशोरीको उजुरीका आधारमा रावललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त प्रवक्ता खिमबहादुर घर्तीमगरले बताउनुभयो । गत मंसिर २३ गते परेको उजुरीका आधारमा २४ गते स्कूलबाटै उनलाई पक्राउ गरिए पनि झण्डै एक सातापछि मात्र सार्वजनिक गरिएको हो । 

‘मंसिर २३ गते परेको उजुरीका आधारमा २४ गते स्कूलबाटै पक्राउ गरेका हौँ, ‘उहाँले भन्नुभयो, ‘रावललाई अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान गरीरहेका छौँ ।’ 

प्रिन्सिपल र बलात्कारको घटनालाई प्रहरीले गुपचुप राखेको थियो । स्प्रिङडेल एकेडेमीका अध्यक्ष रावलले ट्युसन पढाउने नाममा होटलमा लगेर १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको खुल्न आएको बाँके प्रहरीका निमित्त प्रवक्ता घर्तीमगरले बताउनुभयो । 

ती किशोरीको स्वास्थ्य परीक्षणमा समेत यौनकार्य भएको खुलेको प्रहरीले जनाएको छ । रावलले ती छात्रालाई पटक पटक प्रलोभन र त्रास देखाएर यौन सम्बन्ध राख्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

कोरोना महामारीको दोस्रो लहर सुरु भएदेखिनै सुरुमा ट्युसन पढाईदिने बहानामा एकान्तमा बोलाउने र त्यसपछि होटलमा लगेर बलात्कार गर्ने गरेको पीडित पक्षको आरोप रहेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार अस्लिल फोटो रहेको डर देखाएर पटक पटक बलात्कार गर्ने गरेको समेत पीडितले प्रहरी समक्ष बयान दिएका छन् । रावलले पछिल्लो पटक मंसिर १० गते ती छात्रालाई आफनै घरमा लगेर बलात्कार गरेपछि भने छात्राका अभिभावक प्रहरीसम्म पुगेका थिए । 

छोरी २ दिनसम्म घर नआएपछि खोजतलास गरिदिन प्रहरी समक्ष उजुरी दर्ता गराएका छात्राका अभिभावकले छोरी भेटेपछि प्रहरीमा बलात्कार अभियोगमा किटानी निवेदन दिएका थिए ।


प्रतिक्रिया