पाल्पाको नुवाकोटगढीमा माघे संक्रान्ति मेला हुने

पुस २४, २०७८ | तिलोत्तमा

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले माघी पर्वको दिन ऐतिहासिक एवं पुरात्वातिक स्थल पाल्पाको नुवाकोटगढीमा माघे संक्रान्ति मेला तथा कला सांस्कृतिक खाना महोत्सव आयोजना गर्ने भएको छ । 

कला संस्कृतिको जगेर्ना गर्ने र परम्परागत खानाको संरक्षण गर्दै उपभोक्तालाई पस्कने उद्देश्य सहित संघले मेला आयोजना गर्न लागेको हो । 

संघले बुटवलमा गर्दै आएको सडक खाना महोत्सव स्थलमा यस वर्ष सडक निर्माण कार्य जारी रहेकाले पर्यटनलाई पहाडसँग जोडेर अगाडि बढाउने अभिप्रायले नुवाकोट डाँडालाई रोजेको होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले जनाएको छ । 

ऐतिहासिक स्थलमा आयोजना गरिने मेलामा नुवाकोटको विशेषतालाई ध्यानमा राखेर यसलाई निरन्तरता प्रदान गर्न जरुरी रहेको होटल व्यवसायी महासंघ लुम्बिनीका वरिष्ठ उपाध्यक्ष महेन्द्र कुमार श्रेष्ठले बताउनुभयो । 

होटल व्यवसायी पर्यटन व्यवसायको अभिन्न अंग भएकाले पर्यटन प्रवर्धनका लागि धार्मिक तथा पर्यटकीय स्थलबाट मेला महोत्सव सुरु गर्नु राम्रो भएको उहाँको भनाई छ । 

एक दिने खाना तथा सांस्कृतिक महोत्सवमा माघी स्वादका परिकार र सांगीतिक कार्यक्रम गरेर मनाउनका लागि विभिन्न उपसमिति गठन गरी कामलाई तीब्रता प्रदान गरिएको संघका महासचिव माधव कुमार खनालले जानकारी दिनुभयो । 


प्रतिक्रिया