चोरी मुद्दामा फरार अभियुक्त ९ वर्षपछि पक्राउ

लमजुङ प्रहरीले पक्राउ गरेका गोरखा सौरपानी घर भई हाल लमजुङको बेंसीसहर बस्दै आएका २७ वर्षीय सन्तबहादुर गुरुङ । तस्बिर: रेडियो कान्तिपुर । 

चैत्र ३, २०७८ | लमजुङ

चोरी अभियोगमा फरार रहेका एक अभियुक्तलाई लमजुङ प्रहरीले ९ वर्षपछि पक्राउ गरेको छ । गोरखाको साविक सौरपानी गाविस–९ घर भई हाल बेंसीसहर नगरपालिका–६, चनौटे बस्ने २७ वर्षीय सन्तबहादुर गुरुङलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । 

लुकिछिपी बसेको अवस्थामा पक्राउ परेका गुरुङलाई शुक्रबार कार्यालय अदालतमा बुझाइने लमजुङका डीएसपी कृष्णबहादुर कार्कीले बताउनुभयो । गुरुङले साविक बेंसीसहर गाविस–४, सहजीमा २०६९ मंसिर १७ गते सोलखुम्बुका सोनाम शेर्पालाई बास मिलाइदिन्छु भनेर एकान्तमा लगेर कुटपिट गरी उनको साथबाट चोरी गरेर फरार भएका थिए । 

प्रहरीले चोरी मुद्दा चलाएकोमा लमजुङ जिल्ला अदालतले २०६९ साल १८ गते गुरुङविरुद्ध ३ वर्ष ४ महिना १३ दिनको कैद फैसला सुनाएको थियो । कैद फैसलापछि फरार रहेका उनलाई प्रहरीको विशेष टोलीले ९ वर्षपछि बिहीबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्सपेक्टर जगदिश रेग्मीले बताउनुभयो । 

बिहीबार पक्राउ गरिएपनि होलीको दिन सार्वजनिक बिदा भएकाले अदालतमा पेश गर्न नसकिएको र शुक्रबार अदालतमा पेश गरिने उहाँले बताउनुभयो । अदालतमा पेश गरिएपछि गुरुङ कैद भुक्तान गर्न कारागार चलान हुने प्रहरीले जनाएको छ ।


प्रतिक्रिया