जसले चलाइन् थारु समाज

भाद्र १४, २०७९ | कैलाली

पश्चिम तराईको थारु समुदायमा बरघरले गाउँको अगुवाइ गर्ने परम्परा छ । बरघरलाई बरघरिया वा बडघर पनि भनिन्छ। ठाउँअनुसार कसैले यसलाई भल्मन्सा, कसैले महटाँवा र कसैले अग्वा पनि भन्ने गर्दछन् । बरघरकै नेतृत्वमा गाउँमा विकास निर्माणदेखि सामाजिक कामहरू हुने गर्दछन् । बरघरलाई थारु समुदायमा गाउँको अभिभावकको रूपमा लिइन्छ।

थारु गाउँमा पछिल्ला केही वर्षयता महिला पनि बरघर चयन हुन थालेका छन् । तिनैमध्येकी एक हुन्, सुमित्रा चौधरी । कैलालीको भजनी नगरपालिका–६ थापापुर टोलकी ३५ वर्षीया सुमित्रा २०७६ साल माघदेखि १ वर्ष बरघर भइन् । उनी भन्छिन्, “बरघर हुँदा गाउँमा १ सय ७० घरधुरी थिए । हाल तीन सयको हाराहारीमा पुगेको छ ।” सबै घरधुरीको वा तिनको परिवारमा भइपरि आउने समस्याको समाधान गर्ने जिम्मेवारी सुमित्राकै थियो । भन्छिन्, “गाउँमा विवाद भए मिलाउने, विकास कार्यका लागि नगरपालिका, सङ्घसंस्थालगायतसँग समन्वय गर्ने जिम्मेवारी थियो ।” उनका अनुसार, गाउँमा मिलाउन नसकेको विवाद प्रहरी कार्यालयदेखि जिल्ला अदालतसम्म पु¥याउने जिम्मेवारी पनि उनकै थियो ।

परिवार नै प्रेरणा

सानैदेखि परिवारको साथ र सहयोग पाए छोरीले पनि समाज चलाउन सक्छन् भन्ने उदाहरण बनिन् सुमित्रा । उनको परिवारको आर्थिक अवस्था मध्यम छ । छोरीलाई पढाउनुपर्छ भन्ने चेतना परिवारमा भएको हुनाले नै उनले स्कुल पढ्न पाएकी थिइन् । “मेरो परिवारमा छोराछोरीलाई पढाउनुपर्छ भन्ने चेतना थियो, म पढ्नबाट वञ्चित भइनँ,” उनी सुनाउँछिन् ।

सुमित्राले २०६३ सालमा कैलालीको भजनी नगरपालिका वडा ६ स्थित सरस्वती माध्यमिक विद्यालयबाट एसएलसी अर्थात् अहिलेको बुझाइमा एसइई उत्तीर्ण गरिन् । भजनी नगरपालिका वडा १ स्थित महुन्याल उच्च माध्यमिक विद्यालयबाट शिक्षा संकायअन्तर्गत अङ्ग्रेजी विषयमा कक्षा १२ को पढाइ पूरा गरिन् । त्यसपछि उनले टीकापुरस्थित इन्स्टिच्युट अफ कम्युनिटी हेल्थबाट १५ महिने कम्युनिटी मेडिकल असिस्टेन्ट (सिएमए) कोर्स पूरा गरिन् । सिएमए पढ्ने क्रममा उनी सामुदायिक सेवामा प्रत्यक्ष जोडिन पुगेकी थिइन् । उनी भन्छिन्, “यहीँबाट सामाजिक सेवा गर्नुपर्छ भन्ने चेतना भयो ।”

सुमित्राले सिएमएको पढाइ सकेपछि २०७१ सालमा गाउँमै क्लिनिक सञ्चालन गरेर स्वास्थ्य व्यवसाय र सेवासँगै सामाजिक कार्यमा संलग्न भइन् । २०७४ र २०७५ मा उनले गाउँमै गठन भएको भल्मन्सा समाजको सचिव भएर पनि काम गरिन् । “गाउँको नेतृत्व गर्ने चाहनाले दुई वर्ष सचिव भएर काम गरेँ । यहाँबाट गाउँको भल्मान्सा हुँदा के कस्ता जिम्मेवारी हुन्छ भन्ने कुरा सिकेँ,” उनी सुनाउँछिन् ।

सुमित्राभन्दा पहिला नै बरघरको जिम्मेवारी सम्हालेका खुसीराम चौधरीका अनुसार गाउँमा नौ जनाको भल्मन्सा समाज हुन्छ । यसमा एक जना अध्यक्ष, एक जना सचिव, एक जना कोषाध्यक्ष र बाँकी सल्लाहकार सदस्य हुन्छन् ।

बरघर बन्न कहाँ सहज थियो र ?

पहिले पहिले पुरुषले मात्र बरघर बन्न पाउने चलन थियो । सुमित्राले गाउँ चलाउने जिम्मेवारी पुरुषको मात्रै नभई महिलाको पनि हो भनेर साबित गरिन् । यसबाट थारु समुदायमा पुरुष मात्र नेता बन्ने परम्परा तोडिनुका साथै महिलाले अगुवाइ गर्न सक्छन् भन्ने देखाएको उनी बताउँछिन् । २०७५ सालमै भल्मन्सा बन्ने योजना बनाएकी उनलाई भल्मन्सा बन्न नदिन गाउँमा विरोध पनि भयो । उनी भन्छिन्, “गाउँमा म भल्मन्सा बन्ने भएपछि पुरुषले विरोध गरे ।”

महिलालाई भल्मन्सा नबनाउने कुरामा सुमित्रालाई चित्त बुझेन । भल्मन्सा छान्नका लागि २०७५ सालमा भएको निर्वाचनमा उनी पराजित भइन् तर डगमगाइनन् । अर्को वर्ष फेरि भल्मन्सा बन्ने निधो गरिन् र तयारीमा जुटिन् । २०७६ साल माघमा उनी भल्मन्सा बनिन् । २०७६ सालमा भने उनी सहमतिमै भल्मन्सा निर्वाचित भएकी थिइन् । भल्मन्सामा निर्वाचित हुनुअघि उनले एउटा प्रस्ताव राखिन्– गाउँको जिम्मेवारी वहन गरेबापत आफूले कुनै सुविधा नलिने । गाउँकाले निःशुल्क गरेको कामको गुणस्तर नहुने भन्दै वार्षिक साढे आठ हजार रुपैयाँ टेलिफोन खर्चबापत दिने निर्णय गरे । त्यो मान्न तयार भएपछि मात्र आफू भल्मन्सामा निर्वाचित भएको उनी बताउँछिन् ।

सुमित्राकै कार्यकालदेखि गाउँमा भल्मन्सालाई रकम दिने चलन बस्यो, जुन हाल पनि कायम छ । त्यसअघि बरघरलाई वर्षभरि गाउँको अगुवाइ गरेबापत एक घरबाट ५ किलो धान दिने प्रचलन थियो ।

गाउँकी पहिलो बरघर महिला

सुमित्रा भजनी नगरपालिका–६ थापापुर थारू गाउँकी पहिलो बरघर महिला हुन् । अविवाहिता र क्रिस्चियन धर्मावलम्बी भएका कारण सजिलै उनलाई गाउँको जिम्मेवारी सम्हाल्न दिइएन । विभिन्न कठिनाइसँग जुध्दै, गाउँवासीको मन जित्दै अन्ततः उनी २०७६ सालमा गाउँको पहिलो बरघर महिला बन्न सफल भइन् । उनीपछि हिराबहादुर चौधरी एक वर्षका लागि बरघर बने । यो वर्ष अर्थात् २०७८ माघदेखि भने मैनामोटी चौधरी बरघर भएकी छिन् । “मबाट महिला बरघर बन्ने सुरुवात भएर अहिले अरू दिदीबहिनी पनि नेतृत्वमा अघि बढेको देख्दा खुसी लाग्छ,” सुमित्रा भन्छिन् । पूर्वबरघरको रूपमा सुमित्रा गाउँमा हुने हरेक क्रियाकलापमा सल्लाहकार भएर सामाजिक कार्यमा संलग्न रहँदै आएकी छन् ।

अब वडा अध्यक्ष बन्ने सपना

गाउँको जिम्मेवारी वर्ष दिन सम्हालेकी सुमित्रालाई राजनीति गर्ने मोह जागेको छ । उनले गत स्थानीय निर्वाचनमा वडा अध्यक्षको पदका लागि लड्ने सोच बनाएकी थिइन् तर गठबन्धनका कारण मौका पाइनन् । उनले आउँदो चुनावमा वडा अध्यक्षको पदमा उम्मेदवारी दिने सोच बनाएकी छन् । थारु गाउँमा नेतृत्वका लागि कयौँ महिला सक्षम रहेको धारणा राख्ने उनी महिलालाई स्थानीय तहको नेतृत्वमा आउन आग्रह पनि गर्छिन् । 


प्रतिक्रिया