नगरस्तरीय भलिबलको उपाधि बौघागुम्हालाई 

कार्तिक १८, २०७६ | पाल्पा,

तानसेन नगरपालिकास्तरीय भलिवल प्रतियोगिताको उपाधि बौघागुम्हाले हात पारेको छ । तानसेन नगरपालिकाद्वारा गठित तानसेन युवा परिषदले आयोजना गरेको प्रतियोगिता अन्तर्गत सोमबार भएको फाइनलमा अर्गलीलाई सोझो सेटमा हराउँदै बौघागुम्हाले उपाधि चुमेको हो । अर्गलीलाई २५–१३, २५–१३ र २५–१८ अन्तरले बौघागुम्हाले पछि पारेको हो । 

यसअघि सेमिफाइनलमा बौघागुम्हाले बौघापोखराथोकलाई पनि सोझो सेटमै हरायो । बौघागुम्हाले २५–१६, २५–२२ र २५–१८ बौघापोखराथोकलाई पराजित गरेको थियो । त्यस्ते अर्को सेमिफाइनलमा अर्गलीले तेल्घालाई २५–१४, २५–१५, २५–१८ सेटले पछि पार्दै फाइनल प्रवेश पाएको थियो । पहिलो भएसंगै बौघागुम्हाले ७० हजार नगद, ट्रफि, प्रमाणपत्र र मेडल पाएको छ ।

यस्तै दोस्रो भएको अर्गलीले पनि ४० हजार नगदसहित मेडल, ट्रफि र प्रमाणपत्र पााएको छ । तानसेन नगरपालिकाका कार्यवाहक प्रमुख दामोदर घिमिरे, प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज बेल्वासे, तानसेन युवा परिषदका अध्यक्ष गुराँस आत्रेय लगायतले विजयी तथा उपविजयीलाई पुरस्कार दिए । 

प्रतियोगिता अन्तर्गत फाइनलमा उत्कृष्ट खेलाडी बौघागुम्हाका प्रविण बराल भए । यस्तै खेल अनुसार दमकडाका मीनबहादुर गाहा, मदनपोखराकाउमबहादुर हिस्की, तेल्घाका वीरेन्द्र रेश्मी, अर्गालीका बसन्त सारु पनि उत्कृष्ट खेलाडी छनोट भएको युवा परिषद्का महासचिव धनेन्द्र घिमिरेले बताए । नगरपालिका भित्रका नौ समूहले प्रतियोगितामा भाग लिएका थिए । 

नगरस्तरीय भलिवल समूह बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरेको तानसेन युवा परिषद्का अध्यक्ष गुराँस आत्रेयले बताए । प्रतियोगिताबाट नगरस्तरीय भलिब समूहसमेत निर्माण भएको छ । बौघागुम्हाबाट विमल सारु, विनोद थापा, खेमलाल राना, प्रविण बराल, बमबहादुर सारु, अर्गलीबाट हुमबहादुर सारु, निर्मल गाहा, बौघापोखराथोकबाट टुकबहादुर राना, कृष्णबहादुर राना, तेल्घाबाट वीरेन्द्र रेश्मी गरी १० जनाको समूह निर्माण भएको अध्यक्ष आत्रेयले बताए । 


प्रतिक्रिया