हाम्रो पूर्वाञ्चल गोल्डकपको उपाधि आर्मीले उचाल्यो

कार्तिक २५, २०७६ | बिर्तामोड

झापाको बिर्तामोडमा सम्पन्न अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले जितेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सोमबार भएको फाइनल खेलमा आर्मीले चर्च ब्वाइज युनाइटेडलाई पराजित गर्दै उपाधि जितेको हो ।

कप्तान टेकबहादुर बुढाथोकी नायक बन्दा आर्मीले उपाधि हात पारेको हो । जायोन स्पोर्टस क्लब बिर्तामोडद्धारा आयोजित गोल्डकपको बिजेता आर्मीले चर्च ब्वाइज युनाइटेडमाथी २–० ले हराएको हो । आधा दर्जन जति नियमित खेलाडीबिनै मैदानमा उत्रिएको आर्मीले सनसनीपुर्ण जित निकाल्दै उपाधि हात पार्न सफल रह्यो । 

आर्मीको जितका लागि दुबै गोल कप्तान टेकबहादुर बुढाथोकीले गरेका थिए । उनले खेलको ३१ र ८० औं मिनेटमा गोल गर्दै टिमको जित पक्का गरेका हुन । फाइनल खेलको म्यान अफ दी म्याच चर्च ब्वाइजका अशोक खवास घोषित भए । उनले नगद १० हजार रुपैयाँ पुरस्कार पाए ।

प्रतियोगिताको बेष्ट गोलकिपर आर्मीका बिवस चौधरी, चर्च ब्वाइजका सुनिल खड्का उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्स आर्मीका दिपक गुरुङ, उत्कृष्ट फरवार्ड आर्मीका टंक बस्नेत, बेष्ट कोच आर्मीका नविन न्यौपाने घोषित भए उनीहरुले जनही १५ हजार रुपैया पुरस्कार पाए । म्यान अफ दी टुर्नामेन्ट आर्मीका टेकबहादुर बुढाथोकी घोषित भए । उनले ३२ इञ्चको टेलिभिजन र नगद ५० हजार रुपैयाँ पाए । 

बिजेता आर्मीले ट्रफीसागै नगद १२ लाख ५० हजार रुपैयाँ पाए । चर्च ब्वाइजले ६ लाख २५ हजार रुपैयाँमा चित्त बुझायो । कार्तिक १६ गतेदेखि शुरु भएको प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, चर्च ब्वाइज युनाइटेड, नेपाल पुलिस क्लब, झापा ११ एफसी, सिक्किम आक्रामक, मोलवे आसाम, गोर्खा ब्वाइज रुपन्देही, शसस्त्र प्रहरीको एपीएफ क्लब, बेलबारी एफसी र आयोजक जायोन स्पोर्टस क्लबको सहभागिता रहेको थियो । 


प्रतिक्रिया