नेपाल फेरि कुवेतसँग पराजित 

रेडियो कान्तिपुर संवाददाता

मंसिर ३, २०७६ | काठमाडौं

विश्वकप छनोट तथा एसियन कप फुटबल छनोट अन्र्तगत कुवेत विरुद्धको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । योसँगै २०२२ मा हुने विश्वकप फुटबलका लागि छनोट हुने नेपालको सम्भावना न्यून बनेको छ ।

समूह बीमा रहेको नेपालको ५ खेलको समाप्तिमा मात्र ३ अंक छ । समान ५ खेलबाट १० अंक जोडेको कुवेत दोस्रो स्थानमा छ । ४ खेलमा शतप्रतिशत नतिजा सहित अष्ट्रेलिया शीर्ष स्थानमा कायम छ । 

भुटानको थिम्पुमा आज भएको खेलमा नेपाल कुवेतसँग १–० ले पराजित भएको हो । अवे खेलको तुलनामा सुधारिएको प्रदर्शन गरेपनि प्राप्त सीमित अवसरलाई गोलमा परिणत गर्न नसक्दा नेपाल हार भोग्न बाध्य भयो । कुवेतलाई जित दिलाउन २८ औं मिनेटमा बदर अल मतवाले निर्णायक गोल गरेका थिए ।  

नेपालले आगामी चैत्र १३ गते चाईनिज ताईपेईंसँग घरेलु मैदानमा प्रतिस्पर्धा गर्नेछ । अवे खेलमा नेपालले ताईपेईलाई २–० ले पराजित गरेको थियो । एकमात्र अन्तर्राष्ट्रिय स्तरको रंगशाला मर्मत हुन नसक्दा कुवेत विरुद्धको खेल तटस्थ मैदान भुटानमा खेलाईएको थियो ।  


प्रतिक्रिया