पुरुष क्रिकेटमा नेपाललाई कास्य

मंसिर २३, २०७६ | काठमाडौं

नेपालले साग पुरुष क्रिकेटमा कास्य पदक हात पारेको छ । आज भएको तेस्रो स्थानको प्रतिस्पर्धामा माल्दिभ्सलाई ५ विकेटले हराउँदै नेपालले कास्य पदक हात पारेको हो । माल्दिभ्सले दिएको ९५ रनको चुनौती नेपालले २३ बल अगावै ५ विकेट गुमाएर भेट्टायो ।

 नेपालको जितमा आरिफ शेखले ३२ रनको योगदान गरे । कप्तान ज्ञानेन्द्र मल्लले २२ र बिनोद भण्डारीले १२ रन बनाए । ओपनर पारस खडेका ३ रनमा आउट भएको खेलमा दिपेन्द्रसिंह ऐरी २ रनमा पवेलियन फर्किए । रोहित कुमार पौडेल १५ र पवन सर्राफ १० रनमा अविजित रहँदै टोलीलाई जित दिलाए । माल्दिभ्सका उमर एदमले नेपालको ३ विकेट लिए । लिम साफिगको नाममा १ विकेट रह्यो ।

यसअघि काठमाण्डौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिलो ब्याटिङ गरेको माल्दिभ्सले ९ विकेट गुमाएर ९४ रनको योगफल तयार पारेको थियो । माल्दिभ्सको ईनिङसमा लिम साफिगले सर्वाधिक १९ रन बनाए । महम्मद रिसवानले १७, महम्मद माफुजले १६, अमिल मौरुफले १३ र उमार एदमले ११ रन जोडे । 

नेपालका ललित नारायण राजवंशीले ३, सुसन भारीले २ तथा पारस खड्काले १ विकेट लिए । माल्दिभ्सका ३ ब्याट्सम्यान रनआउट भएका थिए । 


प्रतिक्रिया