कुशल भुर्तेलको अर्धशतक मद्दतमा पोखराको विजयी शुरुवात

मंसिर २९, २०७६ | पोखरा

दोस्रो संस्करणको पोखरा प्रिमियर लिग क्रिकेट पीपीएलमा पोखरा पल्टनले विजयी शुरुवात गरेको छ । पोखरा रंगशालामा आज भएको उद्घाटन खेलमा काठमाडौं गोल्डेन वारियर्सविरुद्ध पोखराले ९ विकेटको जित हात पारेको हो । 

काठमाडौंले दिएको १ सय १६ रनको लक्ष्य उसले १४ दशमलव १ ओभरमा १ विकेटको क्षतीमा भेट्यो । उसका कुशल भुर्तेलले नटआउट ५९ रन बनाए । यस्तै, रवि इन्दर सिंहले पनि नटआउट रहदै ३१ रन जोडे भने आसिफ शेखले १४ रन बनाए ।

काठमाडौंका सुशन भारीले १ विकेट लिए ।

त्यसअघि टस जितेर पोखराले फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको काठमाडौंले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय १५ रन बनाएको हो । उसका सुबोध भाटीले सर्वाधिक ४५ रनको योगदान गरे । यस्तै, गौरभ तोमारले १३ र सुशन भारीले १० रन बनाउनुवाहेक अन्य व्याट्स्म्यानले दोहोरो अंकको स्कोर गर्न सकेनन् ।

पोखराका कुशल मल्ल, ललित नारायण राजवंशी र रशिद खानले २–२ तथा सर्वजित लद्दा र प्राथमेश डेकले समान १–१ विकेट लिए । 


प्रतिक्रिया