मलेसिया ११ को सान्त्वना जित, गण्डकी प्रदेश १९२ रनले पराजित

पुस २८, २०७६ | सुनसरी

सुनसरीमा जारी मनमोहन मेमोरियल क्रिकेट प्रतियोगितामा मलेसिया ११ ले सान्त्वना जित हात पारेको छ । 

इनरुवा रंगशालामा गण्डकी प्रदेशलाई १ सय ९२ रनले पराजित गर्दै मलेसियाले प्रतियोगितामा सुखद अन्त्य गरेको हो । समूह डी मा रहेका दुबै टोली यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेका थिए । यो खेलसँगै समूह चरणका खेलहरु सकिएका छन् ।

मलेसियाले दिएको २ सय ९९ रनको लक्ष्य पछ्याएको गण्डकी प्रदेश २७ ओभर २ बलमा १ सय ६ रनमा समेटियो । 

विपिन खत्रीले ४२, प्रविन ढकालले नटआउट १९ र विधान श्रेष्ठले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् । गण्डकीलाई सस्तैमा समेट्न सुहारिल फेत्रीले ४ तथा अनवर रहमान, र भिजय उन्नीले समान ३ विकेट झारे ।

यसअघि ४७ ओभरमा छोट्याईएको खेलमा मलेसियाले ८ विकेट गुमाएर २ सय ९८ रनको उच्च योगफल तयार पारेको थियो । 

एईनुल हकिमले ८९ रन बनाएको मलेसियाको इनिङ्समा भुसन सेभ र भिरनदीप सिंहले अर्धसतक पूरा गरे । विपिन खत्रीले ३ र चन्द्र पौडेलले २ विकेट लिए ।

समूह ए बाट त्रिभुवन आर्मी, समूह बीबाट नेपाल पुलिस क्लब, समूह सीबाट बागमती प्रदेश र समूह डीबाट सुदूरपश्चिम प्रदेशले सेमिफाइनलमा स्थान बनाईसकेका छन् । सेमिफाइनल खेलहरु पर्सिबाट हुनेछ ।  


प्रतिक्रिया