ए डिभिजन लिगमा आर्मी संकटासँग बराबरीमा रोकियो

पुस २९, २०७६ | काठमाडौं

सुरुवाती अग्रता जोगाउन नसक्दा सहिद स्मारक ए डिभिजन लिग फुटबलको पछिल्लो खेलमा त्रिभुवन आर्मी बराबरीमा रोकिएको छ । 

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा छैठौं चरणको अन्तिम खेलमा आज त्रिभुवन आर्मी संकटा क्लबसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

बराबरीले आर्मीले शीर्ष स्थानमा उक्लने अवसर पनि गुमाएको छ । जारी लिगमा ६ चरणका खेल सकिदा मच्छिन्द्र क्लब १३ अंकमा तालिका शीर्ष स्थानमा छ । 

समान अंकभएपनि आर्मी गोल अन्तरमा पछि पर्दै दोस्रो, १२ अंकमा मनाङ मर्स्याङ्दी तेस्रो, १० अंकमा थ्रीस्टार चौंथो र ९ अंकमा जावलाखेल युथ क्लब पाँचौ स्थानमा छ । 

छैठौं चरणको खेलबाट सवै टोलीले अंक जोड्दा मच्छिन्द्र र मनाङ अपराजित छन् । हिमालयन शेर्पा र सरस्वती युथ क्लबले जितको खाता खोल्न सकेका छैनन् ।

रंगशालामा भएको आजको एकमात्र खेलमा नवयुग श्रेष्ठको गोलबाट आर्मीले २९ औं मिनेटमा अग्रता बनाएको थियो । तर ५२ औं मिनेटमा युद्ध शाही दोहोरो पहेँलो कार्ड खाँदै मैदान बाहिरिएपछि दबाबमा परेको आर्मी लगत्तै गोल खान पुगेको थियो । 

५५ औं मिनेटमा अमित तामाङले संकटाका लागि गोल गर्दै आर्मीसँग अंक खोसेका थिए । सातौं चरणका खेलहरु आगामी शुक्रबारबाट सुरु हुनेछ । 


प्रतिक्रिया