पुलिस क्लब एमएम कप क्रिकेटको फाइनलमा

माघ २, २०७६ | काठमाडौं

नेपाल पुलिस क्लब सुनसरीमा जारी मनमोहन मेमोरियल एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । 

ईनरुवा रंगशालामा आज भएको दोश्रो सेमिफाईनलमा सुदूरपश्चिम प्रदेशलाई ९९ रनले पराजित गर्दै पुलिस उपाधि नजिक पुगेको हो । 

पुलिस क्लबले दिएको २ सय ३० रनको लक्ष्य पच्छ्याएको सुदूरपश्चिम ३३ दशमलव ४ ओभरमा १ सय ३० रनमा अलआउट भएको थियो । 

उसका किरन ढुङ्गानाले ३९, आकाश चन्दले नटआउट २३, खडक बोहोरा १४ र गजेन्द्र बोहोराले १२ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकको स्कोर गर्न सकेनन् । 

पुलिसका सागर ढकालले ५, ललित नारायण राजबंशीले ३ तथा ललित भण्डारी र योगेन्द्रसिंह कार्कीले १/१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित ओभरमा सबै विकेट गुमाएर २ सय २९ रन बनाएको थियो । 

सुरुवाती २ विकेट सस्तोमै गुमाएपनि दिपेन्द्रसिंह ऐरी र अनिल शाहले उत्कृष्ट ब्याटिङ गरेपछि पुलिसले मध्यम योगफल तयार पारेको हो । उसका लागि दिपेन्द्रसिंह ऐरीले सर्वाधिक ६८ रन बनाए । 

यस्तै, ललित भण्डारीले ४०, अनिल साहले ३१, योगेन्द्रसिंह कार्कीले २९, र कुशल भुर्तेलले १७ रन बनाए । मञ्जित श्रेष्ठले ९ तथा अमित श्रेष्ठले ८ रन बनाए । 

यस्तै, सागर ढकालले नटआउट ९ रन बनाए । पवन सर्राफ र सुनिल धमला समान एक रनको ब्यक्तिगत स्कोरमा पभेलियन फर्किए । 

सुदूरपश्चिमका शेर मल्ल, विनोद लामा र आकाश चन्दले समान ३ तथा सन्तोष भट्टले १ विकेटले लिए । 

उपाधिका लागि पुलिसले पर्सि शनिबार अर्को विभागीय टोली नेपाल आर्मीको सामना गर्नेछ । 

यसअघि हिजो भएको पहिलो सेमिफाईनलमा बागमती प्रदेशलाई हराउँदै आर्मी फाईनल प्रवेश गरेको हो । 


प्रतिक्रिया