ए डिभिजन लिगको सातौं चरणका खेल भोलिबाट

माघ २, २०७६ | काठमाडौं

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको सातौं चरणका खेल भोलिबाट शुरु हुँदा शीर्ष स्थानको मच्छिन्द्र क्लब अग्रता बढाउने अवसरको खोजीमा हुनेछ । 

अखिल नेपाल फुटबल संघ एन्फाले सार्वजनिक गरेको खेल तालिका अनुसार मछिन्द्रले भोलि तालिकाको पुछारबाट दोस्रोमा रहेको हिमालयन शेर्पा क्लबसँग प्रतिस्पर्धा गर्नेछ । 

खेल अपरान्ह ३ बजेपछि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । छैटौं खेलसम्म अपराजित रहेको मच्छिन्द्रको १३ अंक छ । 

चारमा जित र दुईमा बराबरी गरेको ऊ आफ्नो लयलाई यथावत राख्न चाहन्छ । अर्कोतर्फ हिमालयनले दुईमा हार र ४ खेलमा बराबरी गर्दै ४ अंक जोडेको छ ।

तालिकामा समान १३ अंक भएपनि त्रिभुवन आर्मी क्लब दोस्रो स्थानमा छ । डिफेण्डिङ च्याम्पियन मनाङ मर्स्याङदी तेस्रोमा छ । उसको १२ अंक छ । 

यो सिजन लय गुमाएको थ्रीस्टार क्लब चौंथोमा छ । उसको १० अंक छ ।

तालिकामा ९ अंक जोडेको जावलाखेल क्लब पाँचौं, ८ अंक जाडेको न्यूरोड टिम एनआरटी छैटौं, समान ८ अंक भएको नेपाल पुलिस क्लब सातौं र ८ अंक नै जोडेको संकटा क्लब गोल अन्तरका आधारमा आठौं स्थानमा छ ।

त्यस्तै, ७ अंकका साथ ब्रिगेड ब्वाइज क्लब नवौं, ६ अंकका साथ च्यासल युथ क्लब दशौं, ५ अंक रहेको सशस्त्र प्रहरी बल एघारौं, ५ अंक नै जोडेपनि गोल अन्तरमा फ्रेन्डस क्लब बाह्रौं स्थानमा छ । 

जारी लिगमा १ अंक मात्र जोडेको सरस्वती युवा क्लब अन्तिम अर्थात चौधौं स्थानमा छ ।


प्रतिक्रिया