टुङ्गियो मच्छिन्द्रको अपराजित यात्रा, हिमालयनको पहिलो जित

माघ ३, २०७६ | काठमाडौं

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मच्छिन्द्र क्लबको अपराजित यात्रामा पूर्ण बिराम लागेको दिन हिमालयन शेर्पा क्लबले पहिलो जित दर्ता गरेको छ । 

सातौं चरणको पहिलो खेलमा आज शीर्ष स्थानको मच्छिन्द्र हिमालयनसँग २–० ले पराजित भयो ।

हारपछि मच्छिन्द्र १३ अंकमा तालिका दोस्रो स्थानमा झरेको छ भने जितले हिमालयन शेर्पालाई १३औं बाट एकै पटक नवौं स्थानमा पुर्‍याएको छ । 

मच्छिन्द्रले ७ मध्ये ४ मा जित र २ मा बराबरी गरेको छ भने आज पहिलो जित दर्ता गरेको शेर्पा क्लबले ४ मा बराबरी गरेको छ ।

निरन्तर वर्षाका बीच ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलको पहिलो मिनेटमा नै आत्मघाती गोलको उपहारबाट हिमालयन शेर्पाले अग्रता बनाएको थियो । 

पिटर सेगुनले हेडर मार्फत आफ्नै पोष्टमा गोल गरेपछि शीर्ष स्थानको मच्छिन्द्रबिरुद्ध हिमालयन शेर्पा अग्रता बनाउन सफल भयो । 

१९ औं मिनेटमा विजय श्रेष्ठले मच्छिन्द्रको पोष्टमा गोल गरेपछि हिमालय शोर्प पहिलो जित उन्मुख भएको थियो । 

दोस्रो हाफमा मच्छिन्द्रले गोलका सुनौला अवसरहरु बुनेपनि पोष्टको दिशा दिन नसक्दा सातौं चरणमा पहिलो हार ब्यहोर्न बाध्य भयो ।

लिगमा भोली नेपाल पुलिस क्लब र जावलाखेल युथ क्लब तथा मनाङ मस्र्याङ्दी र थ्रीस्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । जारी लिगमा अब मनाङ मात्र अपराजित छ । 


प्रतिक्रिया