राष्ट्रिय भलिबल प्रतियोगितामा आर्मी र एपीएफको विजयी सुरुआत

माघ ३, २०७६ | काठमाडौं

काठमाडौंमा सुरु पाँचौ संस्करणको आरबीबी एनभीए राष्ट्रिय भलिबल प्रतियोगितामा विभागीय टोलीहरु त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लबले विजयी सुरुआत गरेका छन् ।

त्रिपुरेश्वरस्थित कभर्ड हलमा आजको पहिलो खेलमा आर्मीले आरजी ग्रुपलाई २५–९, २५–१६ र २५–९ को सेटमा पराजित गर्‍यो ।

सोही कोर्टमा एपीएफले बुलबुले रारा क्लबलाई ३–१ ले पाखा लगायो । पहिलो सेट २३–२५ ले रारालाई सुम्पिए पनि एपीएफले सो पछिका सेटहरु २५–१२, २५–२० र २५–१८ ले आफ्नो पक्षमा पारेको थियो ।

सोही कोर्टमा महिला तर्फको खेलमा भने न्यु डायमण्ड क्लबले नेपाल पुलिसबिरुद्ध ३–२ सेटको कठीन जित निकाल्यो । 

प्रतिस्पर्धात्मक खेलमा न्यू डायमण्डले १७–२५, २५–१८, २३–२५, २५–१८ र १५–११ ले बाजी मारेको हो ।

नेपाल भलिबल संघको आयोजनामा भएको प्रतियोगितामा पुरुषतर्फ ११ र महिलातर्फ ७ टोलीको सहभागिता रहेको छ ।

प्रतियोगिताको उपाधि विजेताले २ लाख रुपैयाँ, उपविजेताले १ लाख रुपैयाँ र तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ हात पार्नेछ । प्रतियोगिता माघ १० गतेसम्म चल्नेछ । 


प्रतिक्रिया