पुलिस र न्यू डायमण्ड राष्ट्रिय महिला तथा पुरुष भलिबलको सेमिफाइनलमा

माघ ६, २०७६ | काठमाडौं

नेपाल पुलिस र होङ्गवान्जी न्यू डायमण्ड क्लब पाँचौ आरबीबी एनभीए राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेका छन् । 

त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा भएको स्पर्धामा पुलिसले ढोरपाटन स्पोर्टस क्लबलाई २५–५, २५–१५, २५–८ ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । 

होङ्गवान्जी न्यू डायमन्डसँग ३–२ ले पराजित पुलिसले १ अंक जोडेको थियो भने ढोरपाटनलाई पराजित गर्दै थप ३ अंकका साथ कुल ४ अंक बटुल्न सफल भयो । 

समूह विजेता र उपविजेताको टुङ्गगो भने होङ्गवान्जी न्यू डायमन्ड र ढोरपाटन स्पोर्टस क्लबबीचको नतिजाबाट हुनेछ ।

च्याम्पियनसिपको पुरुषतर्फ सेनाको त्रिभुवन आर्मी क्लब समूह ए मा विजेता बन्दै अन्तिम आठमा पुग्न सफल भएको छ । 

आर्मीले आज नयाँ बजार सामाजिक युवा क्लबलाई २५–१५, २५–१७, २५–१७ को सोझो सेटमा पराजित गर्‍यो । आर्मीले दुई खेलबाट ६ अंक जोडेको छ । 

आर्मीसँग पराजित भएपनि नयाँ बजार समूह उपविजेताका रुपमा क्वाटरफाईनल प्रवेश गरेको छ । 

समूह बीमा बुलबुले रारा क्लबले जावलाखेल भलिबल ट्रेनिङ्ग सेन्टरलाई २५–१५, २५–२१, २५–१० ले पराजित गर्दै ३ अंक बटुल्न सफल भयो ।


प्रतिक्रिया