आर्मी १६ अंकका साथ तालिकाको शीर्ष स्थानमा कायमै

माघ ६, २०७६ | काठमाडौं

शीर्ष स्थानको त्रिभुवन आर्मीले सहिद स्मारक ए डिभिजन लिग फुटबलमा पाँचौ जित दर्ता गरेको छ । सातौं चरणका खेल सकिँदा आर्मी १६ अंकमा तालिकाको शीर्ष स्थानमा छ ।

दोस्रो स्थानको मच्छिन्द्र क्लब र तेस्रो स्थानको मनाङ मर्स्याङ्दीको समान १३ तथा थ्रीस्टार, एनआरटी र नेपाल पुलिस क्लबको समान ११ अंक छ ।

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा आर्मीले च्यासल युथ क्लबलाई ३–० ले पराजित गर्‍यो । 

पहिलो हाफ गोल रहित बराबरीमा सकिएपनि दोस्रो हाफमा आर्मीले एकतर्फी खेल पस्किएको थियो । 

५८ औं मिनेटमा क्याप्टेन भरत खवासको प्रहारले पोष्टको दिशा लिएपछि अग्रता बनाएको आर्मीका लागि नवयुग श्रेष्ठ र सन्तोष तामाङ्ले थप गोल गरे । हारपछि च्यासल ६ अंकमा १२ औं स्थानमा छ ।

आजै ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा भएको संकटा र ब्रिगेड ब्वाईज क्लबबीचको खेल भने गोल रहित बराबरीमा सकिएको थियो । 

बराबरीपछि संकटा ९ अंकमा आठौं र ब्रिगेड ८ अंकमा नवौं स्थानमा छन् ।

लिगमा आठौं चरणका खेलहरु पर्सिबाट हुनेछन् । पहिलो खेलमा मच्छिन्द्र र नेपाल पुलिस क्लबबीच खेल हुनेछ ।


प्रतिक्रिया