खुल्ला हाफ म्याराथनको उपाधि रावललाई

माघ ११, २०७६ | पाल्पा

गणेशदल गण त्रिभुवन आर्मी क्लबका नरेन्द्र सिंह रावल पाल्पाको तानसेनमा आज शनिबार आयोजित विजय दौड खुल्ला हाफ म्याराथनमा च्याम्पिएन बनेका छन् । भ्रमण वर्षका अवसरमा गोरखदल गणले राखेको खुल्ला हाफ म्याराथनमा नरेन्द्रले १ घण्टा १६ मिनेट ९ सेकेन्डमा दूरी पूरा गरेका हुन् । पहिलो भएसँगै ५० हजार नगद, ट्रफी, प्रमाणपत्र पाएका छन् । 

रुकुम मुसीकोटका दुर्गाराज बुढा दोस्रो र नारायण दल गण गोरुसिंगे कपिलवस्तुका सुवास कार्की तेस्रो भए । दुर्गाराजले १ घण्टा १८ मिनेट ३५ सेकेन्ड र सुवासले १ घण्टा १८ मिनेट ३० सेकेण्डमा दूरी तय गरेका थिए । दोस्रो र तेस्रो हुनेले ३० र २० हजार नगद, ट्रफी र प्रमाणपत्र पाए । खड्गदल गणका शिवबहादुर रायमाझी १ घण्टा १८ मिनेट ४२ सेकेन्डमा पूरा गर्दै चौंथो भएसंगै ५ हजार नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरियो ।

यसैगरी ५ किलोमिटर छात्रा दौडमा प्यूठानबाट सहभागी हुमीकुमारी बुढामगर पहिलो भईन् । प्यूठानकै खिमा शेरचनले दोस्रो भइन् भने जनता मावि तानसेनकी सन्जु गाहाले तेस्रो भइन् । अमृत पब्लिक मावि रम्भा पाल्पाकी सपना सारु चौंथो भइन् । उनीहरुलाई क्रमश २०, १०, ५ र २ हजार प्रदान गरियो ।

५ किलोमिटर दौडकै छात्रतर्फ भने भक्तपुरका सागर श्रेष्ठ पहिलो भए । काठमाडौंका युनिश सारु मगर दोस्रो भए भने काठमाडौंकै प्रविण बोहोरा तेस्रो भए । महोत्तरीका नारायणबाहदुर कुशहवा चौंथो भए । उनीहरुलाई क्रमश २०, १०, ५ र २ हजार नगद, ट्रफी, प्रमाणपत्र पाए ।

२१ किलोमिटर हाफ म्याराथनमा बेलायती नागरिक डेनियल ज्याम्स विचम्यान र जापानी नागरिक दाई सुके ओगुरालाई विशेष सम्मान गरिएको थियो । विजयी खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि २२ नम्बर बाहिनी बुटवलका बाहिनीपति सहायक रथी सुदर्शन सिलवाल, प्रदेशसभा सदस्य नारायण आचार्य, डा. पुरनमान बज्राचार्य, बीरबहादुर राना, जिल्ला समन्वय समितिकी कार्यबाहक प्रमुख मीरा मरासिनी, गोरखदल गणका गणपति सुरज थापाले नगद पुरस्कार, ट्रफि, प्रमाणपत्र प्रदान गरे । 


प्रतिक्रिया