एनएनआइपिए स्पोर्ट्स अवार्डको १४औं संस्करण फागुन पहिलो साता

माघ १२, २०७६ | काठमाडौं

एनएनआइपिए स्पोर्ट्स अवार्डको १४ औं संस्करण आगामी फागुन पहिलो साता हुने भएको छ । आयोजक नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले आज काठमाडौंमा पत्रकार सम्मेलनको गर्दै अवार्डको १४ औं संस्करण फागुन ६ गते बसन्तपुरमा गर्ने जानकारी गराएको हो ।

इन्डोनेसियामा भएको १८ औं एसियन गेम्समा गरेको प्रदर्शनका आधारमा उत्कृष्ट खेलाडी छनोट गरी अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ । सो एसियन गेम्समा नेपालले २८ खेलमा सहभागिता जनाएको थियो । हरेक खेलबाट १–१ जना उत्कृष्ट महिला र पुरुष खेलाडी छनोट गरिनेछ । उनीहरुले समान १० हजार रुपैयाँ पाउने छन् ।

यस्तै यसपटकदेखि पारा खेलकुदतर्फ पनि एक जनालाई पुरस्कृत गरिने भएको छ । पारा खेलकुदको पनि उत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ पाउनेछन् । अवार्ड कार्यक्रममा पहिलो अन्तर्राष्ट्रिय धावक गजराज जोशीको नाममा रहेको गजराज जोशी आदर्श खेलाडी सम्मानलाई निरन्तरता दिइएको संघका अध्यक्ष दीपक श्रेष्ठले बताए ।

आदर्श खेलाडीबाट सम्मानति हुनेलाई ३५ हजार रुपैयाँ दिइने छ । गतवर्षदेखि शुरु भएको उत्कृष्ट खेलाडीहरुको पनि उत्कृष्टबाट महिला र पुरुष १–१ जनाले समान १ लाख रुपैया प्राप्त गर्ने एनएनआइपिएले जनाएको छ ।

गतवर्ष पुरुषतर्फ भारोत्तोलनका कमलबहादुर अधिकारी र महिलामा करातेकी अनु अधिकारी उत्कृष्टबाट पनि उत्कृष्ट भएकी थिइन् । 


प्रतिक्रिया