मच्छिन्द्र क्लब ए डिभिजन लिगको शीर्ष स्थानमा

माघ १३, २०७६ | काठमाडौं

मच्छिन्द्र क्लब काठमाडौंमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा बलियो प्रतिद्वन्द्वी थ्रीस्टार क्लबलाई २–० ले पराजित गर्दै मच्छिद्र शीर्ष स्थानमा फर्किएको हो । 

९ खेलबाट उसको १९ अंक भएको छ । हारपछि पनि थ्रीस्टार भने १४ अंकमा चौंथो स्थानमा कायम छ । दोस्रो स्थानको त्रिभुवन आर्मीको १७ र तेस्रो स्थानको मनाङ मर्स्याङ्दीको १६ अंक छ ।

जारी लिगमा मच्छिन्द्रलाई छैठौं जित दिलाउने क्रममा ३८ औं मिनेटमा रेजिन सुब्बा र ९० औं मिनेटमा बिशाल राई बीले गोल गरे । 

खेलपछि थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले टाइटल जित्ने क्लबको योजनामा गम्भीर धक्का लागेको प्रतिक्रिया दिए । उनले उपाधि होडबाट क्लव बाहिरिएको स्वीकारे ।

सोही मैदानमा आज भएको विभागीय डर्बीमा भने नेपाल पुलिस क्लबले सशस्त्र प्रहरीको एपीएफमाथि १–० को साँघुरो जित निकाल्यो । 

१३ औं मिनेटमा क्याप्टेन भोला सिलवालले निर्णायक गोल गरेपछि पुलिस जारी लिगमा चौथो जित निकाल्न सफल भयो । जितपछि पुलिस १४ अंकमा तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । 

एपीएफ भने ५ अंकमा पुछारबाट दोस्रो स्थानमा छ । प्रतियोगितामा भोलि हिमालयन शेर्पा र सरस्वती युथ तथा जावलाखेल युथ र त्रिभुवन आर्मीबीच खेल हुनेछ । 


प्रतिक्रिया