ए डिभिजन लिगमा सरस्वती क्लबको पहिलो जित

माघ १४, २०७६ | ललितपुर

त्रिभुवन आर्मी क्लब सहिद स्मारक ए डिभिजन लिग फुटबलको शीर्ष स्थानमा फर्कंदा सरस्वती क्लबले जितको खाता खोलेको छ । 

ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा भएको आजको दोस्रो खेलमा त्रिभुवन आर्मीले जावलाखेल युथ क्लबमाथि १–० को साँघुरो जित निकाल्यो । 

आर्मीले ९ खेलबाट २० अंक जोडेको छ । जावलाखेल भने १२ अंकमा सातौं स्थानमा यथावत छ । जारी लिगमा आर्मीलाई छैठौं जित दिलाउन क्याप्टेन भरत खवासले ७५ औं मिनेटमा निर्णायक गोल गरे ।

जारी सिजन पहिलो जित दर्ता गर्ने क्रममा सरस्वतीले हिमालयन शेर्पालाई ४–३ गोल अन्तरमा पराजित गर्‍यो । जारी सिजनमा एकै खेलमा भएको यो नै सर्वाधिक गोल संख्या पनि हो । 

जितपछि पनि सरस्वती भने ४ अंकमा तालिकाको पुछारमा कायम छ । सरस्वतीलाई जिताउन काजेम बुसारीले २ तथा बिनोद केसी र मनिष थापाले एक एक गोल गरे । 

शेर्पाका आसीस गुरुङ, विजय श्रेष्ठ र रबी थापा मगरले गोल गरे । 


प्रतिक्रिया