मच्छिन्द्रको जितमा फेरि आर्मीको आत्मघाती गोल

फाल्गुन ९, २०७६ | बिर्तामोड

झापाको झिलझिलेमा जारी तेस्रो सताक्षी गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि मच्छिन्द्र र थ्रीस्टार क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । उपाधि भिडन्त पर्सि आइतबार हुनेछ । 

शिवसताक्षी नगरपालिका ११ स्थित गणेशमान सिंह अध्ययन प्रतिष्ठानको मैदानमा आज भएको अन्तिम सेमिफाइनलमा विभागीय टोली त्रिभुवन आर्मीलाई २–० गोल अन्तरले पराजित गर्दै मच्छिन्द्रले फाइनलमा स्थान पक्का गरेको हो । 

आजको खेलमा मच्छिन्द्रको लागि रेजिब सुब्बाले एक गोल गरे । एक गोल भने आर्मीबाटै उपहार पाएको थियो । खेलको २१ औं मिनेटमा रेजिन सुब्बाको गोलबाट मच्छिन्द्रले अग्रता बनाएको थियो । ७४ औं मिनेटमा आर्मीका विकास खवासले आत्मघाती गोल गरे ।

ए डिभिजन लिगको निर्णायक खेलमा समेत मच्छिन्द्रले आत्मघाती गोलमा आर्मीलाई १–० ले पराजित गर्दै उपाधि जितेको थियो ।  


प्रतिक्रिया