महिला फुटबल टिमका खेलाडीले दायर गरेको मुद्दा खारेज

वैशाख २०, २०७७

अमेरिकाको महिला फुटबल टिमका खेलाडीले पुरुष सरह समान पारिश्रमिक पाउनका लागि दायर गरेको मुद्दा अदालतले खारेज गरिदिएको छ । गत वर्ष २८ महिला फुटबल खेलाडीले पुरुष खेलाडी बराबर तलब र सुविधाको माग गदै अमेरिकी फुटबल संघ विरुद्ध मुद्दा दायर गरेका थिए । उनीहरुले समान पारिश्रमिक ऐन अन्तर्गत ६ करोड ६० लाख डलर बराबरको क्षतिपूर्ति पनि मागेका थिए ।

मुद्दा खारेज भएपछि महिला टिमले अदालतको निर्णयबाट आश्चर्य चकित भएको प्रतिक्रिया दिएको छ । महिला टोलीले अदालतको सो निर्णय विरुद्ध पुनरावेदन गर्ने बताएका छन् । महिला टोलीका खेलाडीहरुका प्रवक्ता मोली लेभिन्सनले निर्णय दुखद र आश्चर्यजनक भएपनि समान पारिश्रमिकको मुद्दालाई बोक्न नछोड्ने बताएकी छन् ।

अमेरिकाको महिला टिम गत वर्ष महिला विश्वकप जितेको थियो । यस्तै महिला टिमले पाँच पटक ओलम्पिकमा स्वर्ण पदक जितेका छन् ।

संघीय अदालतका न्यायाधीश ग्यारी क्लाउस्नरले समान पारिश्रमिकको मुद्दालाई खारेज गरेपनि यात्रा, हाउजिङ र स्वास्थ्य सहयोगमा विभेद गरिएको भन्दै त्यसबारे आगामी जुन १६ मा लस एन्जल्समा सुनुवाई शुरु गर्ने निर्णय सुनाएका छन् । साथै, पछिल्लो समय समग्रतामा महिला खेलाडीले पुरुष खेलाडीको तुलनामा प्रति म्याच बढीनै पारिश्रमिक पाउने गरेको पनि अदालतको ठहर छ ।

फुटबल संघले भने महिला फुटबलको विकासका लागि आफूहरु टीमसँग सहमतिका साथ अघि बढ्न तयार रहेको बताएको छ । अमेरिकी पुरुष फुटबल टीमले सन् २००२ मा क्वार्टरफाइनल सम्मको यात्रा तय गरेको छ । त्यसअघि सन् १९३० मा विश्वकप फुटबलको उद्घाटन प्रतियोगितामा अमेरिकी परुष टोलीले तेस्रो स्थान हासिल गरेको थियो । 


प्रतिक्रिया