एन्फाद्वारा अनुशासन र साधारण सभाको बारेमा छलफल गर्न कार्यसमिति बैठक आह्वान

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ १३, २०७७ | काठमाडौं

अखिल नेपाल फुटबल संघ एन्फाले अनुशासन र साधारण सभाको बारेमा छलफल गर्न कार्यसमिति बैठक बोलाएको छ । बैठक यही जेठ १९ गते बस्ने एन्फाले जनाएको छ । एन्फाको संशोधित विधान अनुसार बैठकका लागि एकसाता अगावै सूचना जारी गर्नुपर्ने प्रावधान अनुसार जेठ १९ मा भिडियो कन्फ्रेन्समार्फत् बैठक बस्ने प्रवक्ता किरण राईले जानकारी दिए । एन्फाको बार्षिक बजेट लगायतका ५ वटा एजेण्डा तय भएको छ ।

बैठकमा कोरोना प्रभावित जिल्ला, क्लब र व्यक्तिलाई प्रदान गरिने कोरोना राहतका बारेमा पनि छलफल हुनेछ । एन्फाको साधारण सभा, अनुशासन र विविध एजेण्डा तय गरिएको छ । कोरोनाकै कारण एन्फाको साधारण सभा अन्तिम समयमा आएर स्थगित गरिएको थियो ।

संस्था विरोधी गतिविधि गरेको आरोपमा एन्फाले अघिल्लो सातामात्र ललितपुर जिल्ला अध्यक्ष पुरुषोत्तम थापालाई साधारण सभा सम्मका लागि निलम्बन गरेपछि यसबारे पनि बैठकमा छलफल हुनेछ । एन्फाको सो निर्णयलाई लिएर कार्यसमिति भित्रै विवाद छ ।

एन्फाको सचिवालय बैठकले ललितपुर जिल्ला अध्यक्षलाई स्पष्टिकरण सोध्दै निलम्बनको निर्णय गरेको थियो । सो निर्णय विधान र विधि सम्मत् नरहेको भन्दै वरिष्ठ उपाध्यक्ष पकंज नेम्वाङले विरोध जनाएका थिए । त्यसपछि यो विषयले कार्यसमिति बैठकमा प्रवेश पाएको हो । 


प्रतिक्रिया