लिग विजेता लिभरपुल म्यानचेष्टर सिटीसँग पराजित

असार १९, २०७७ | एजेन्सी

इङ्लीश प्रिमियर लिग फुटबलको पछिल्लो खेलमा लिग विजेता लिभरपुल म्यानचेष्टर सिटीसँग पराजित भएको छ । यसअघि नै लिगको उपाधि जितिसकेको लिभरपुललाई ४–० ले हराउदै सिटीले भने अंक दुरी घटाएको छ । लिग विजेता लिभरपुलको ८६ अंक छ भने समान ३२ खेलबाट सिटीको ६६ अंक भएको छ । जित पछि सिटीले तेस्रो स्थानको लेष्टर सिटीसँगको दुरी समेत ११ अंकमा पुर्‍याएको छ ।

घरेलु मैदान इत्तिहादमा पहिलो हाफमा ३–० को अग्रता बनाएको म्यानचेष्टर सिटीले दोस्रो हाफमा उपहार गोल पाएसँगै फराकिलो जित हात पार्न सफल भयो । २५ औं मिनेटमा पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै केभिन डी ब्रुयेनले सिटीलाई अग्रता दिलाएका थिए । ३५ औं मिनेटमा राहिम स्टर्लिङले टोलीको अग्रता दोब्बर पारे । त्यसको १० मिनेटपछि फिल फोडेनले गोल गर्दै टोलीलाई ३–० को अवस्थामा पुर्‍याएका थिए । 

दोस्रो हाफमा ओक्सलाडे चेम्बरर्लिनले आफ्नै पोष्टमा गोल गरेपछि सिटी ४–० को शानदार जित निकाल्यो ।

गएरातीनै टटनहाम सेफिल्ड युनाईटेडसँग ३–१ ले स्तब्ध भयो । जितपछि ४७ अंक भएको सेफिल्ड तालिकाको सातौ स्थानमा उक्लिएको छ भने हारले ४५ अंक भएको टटनहाम नवौ स्थानमा धकेलिएको छ ।  


प्रतिक्रिया