उपाधि यात्रामा अघि बढ्यो रियल मड्रिड

असार १९, २०७७ | एजेन्सी

स्पेनिस ला लीगा फुटबलमा रियल मड्रिडले उपाधि यात्रा बलियो बनाउँदै लगेको छ । ३३ औं चरणको खेलमा गएराती उसले गेटाफेलाई १–० ले पराजित गर्‍यो । 

जितपछि ३३ खेलबाट रियलको ७४ अंक भएको छ भने तालिकाको दोस्रो स्थानमा रहेको बार्सिलोनाको समान खेलबाट ७० अंक छ ।

घरेलु मैदानमा रियललाई जिताउन ७९ औं मिनेटमा सर्जियो रामोसले पेनाल्टिमार्फत गरेको गोल नै निर्णायक बन्यो । खेलमा अधिकांश समय गेटाफेलाई दबावमा राखेको रियलले गोल गर्न भने खेलको अन्तिम समयसम्म कुर्न परेको थियो ।

गएराती नै रियल सोसिडाडले स्पानियोललाई २–१ ले तथा ओसासुनाले आईबरलाई २–० ले स्तब्ध पारे । यो जितले सोसिडाडलाई सातौ स्थानमा पुर्‍याएको छ भने जितपछि पनि ओसासुना भने तालिकाको ११ औ स्थानमा कायम छ ।   


प्रतिक्रिया