म्यानचेस्टर सिटीका सानेले क्लब छोड्दै

असार २०, २०७७ | काठमाडौं

सिजनको अन्त्यसँगै म्यानचेस्टर सिटीका जर्मन विंगर लेरोय सानेले क्लब छोड्ने भएका छन् । उनी आफ्नै घरेलु लिग क्लब बायर्न म्युनिखमा अनुबन्धित हुने भएका छन् । 

सिटीसँग ५ करोड ५० लाख पाउन्डको सम्झौता गर्दै जर्मन राष्ट्रिय टोलीका विंगरलाई बार्यनले भित्राउन लागेको हो । सानेले बायर्नसँग ५ वर्षे सम्झौता गरेका हुन् । 

बायर्नले साने क्लबमा अनुबन्धित भएको पुष्टि गरेको छ । सानेले बायर्नको अफिसियलसँग रहेर क्लबको जर्सी सार्वजनिक गरेको र सम्झौता पत्रमा हस्ताक्षर गर्दै गरेको तस्बिर सार्वजनिक गरेको छ ।

सानेले सिटीको सम्झौता नवीकरण प्रस्ताव अस्वीकार गरेपछि उनको भविष्य अन्यत्र रहेको प्रष्ट भएको थियो । सन् २०२१ सम्म सम्झौता रहेकाले सिटीले उनलाई बेच्नु उचित रहेको निर्णय गरेको हो ।

साने सन् २०१६ मा जर्मन क्लब साल्केबाट ३ करोड ७० लाख पाउन्डमा सिटी आएका थिए । उनकै उच्च प्रदर्शनमा सिटीले पछिल्लो दुई सिजन प्रिमियर लिग उपाधि जितेको थियो । 


प्रतिक्रिया